काठमाडौं- राजनीतिक स्थिरता आमजनको अपेक्षा हो। २०७४ मा नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकतासहित गठबन्धन गर्दा त्यही ‘स्पिरिट’मा मतदान भएको थियो। यसैको परिणाम झण्डै दुई तिहाइ बहुमत वाम गठबन्धनले ल्याएको थियो।
जनताले ‘स्थिरता’का पक्षमा दिएको मत नेताहरुका निहित स्वार्थकै कारण खण्डित गर्ने काम भयो र बितेको पाँच वर्ष राजनीतिक अस्थिरताको अध्यायकै एउटा निरन्तरता बन्न पुग्यो।
संविधान जोगाउने अजेण्डासहित यसपल्ट कांग्रेसको नेतृत्वमा माओवादी केन्द्रसहितका पाँच दलको वाम-लोकतान्त्रिक गठबन्धनले संयुक्तरुपमा चुनाव लडेको छ। त्यसलाई चुनौती दिन एमालेको नेतृत्वमा केही दलहरुको तालमेल छ।
मतदान सकिँदैगर्दाको रुझान केलाउने हो भने जनस्तरबाट गठबन्धन र तालमेल दुवै अस्वीकृत भएका छन्। उनीहरुका मजबुत संगठन, कार्यकर्ताको सञ्जाल र स्वार्थ जोडिएका विषयले हेर्दा ‘ठूला दल’ यसपल्ट पनि उनीहरु नै बन्न सक्छन्। तर, अपनत्व र भरोसा गुमाउँदै गएको महसुस उनीहरु आफैंलाई पनि हुनेछ।
इतिहास भएका यी दलका नेताहरुका स्वार्थकेन्द्रित गतिविधिबाट आजित जनताले सुध्रिन वा सकिन तयार रहनुपर्ने ‘जनाउ घण्टी’ बजाएका छन्। यो निर्वाचनबाट केही दल जबर्जस्त रुपमा राष्ट्रिय राजनीतिमा उदाउँदैछन्।
काठमाडौंको क्षेत्र नं २ बाट मतदान गरेका दिलिपमणि भट्टराई २०४८ सालदेखि मतदान गर्दै आएका छन्। विगतमा लोकतन्त्रका लागि लड्ने दललाई मत दिएको बताउने उनले यसपल्ट उनीहरुलाई सुध्रिनका लागि दबाब दिन मतदान गरेका छन्। उनले भने, ‘मैले डेमोक्रेसीका लागि योगदान दिनेलाई मतदान गरेको हो। यिनीहरुलाई नै साथ दिएको हो। तर, बितेका २०-३० वर्षदेखि कुनै परिवर्तन भएन। पार्टीभित्र लोकतन्त्र पनि कम देखियो। सुध्रिन दबाब सिर्जना गर्दै मतदान गरेका छौं।’
देशका केही महत्त्वपूर्ण निर्वाचन क्षेत्र (खासगरी सहर) मा राष्ट्रिय स्वतन्त्र पार्टी बलियो चुनौती दिनेछ। ११० जना निर्वाचित हुने समानुपातिक प्रणालीमा यो पार्टीले महत्वपूर्ण हिस्सा ओगट्ने देखिएको छ। यसैगरी पूर्वी तराईमा सीके राउत नेतृत्व जनमत पार्टी र पश्चिम तराई रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी उदाउन सक्ने संकेत देखिएका छन्।
उनीहरुको उदय तिनीहरुले निर्वाचनअघि सार्वजनिक गरेका घोषणा पत्र वा देखाएका सपनाका कारण हुँदै छैन। पुराना दलहरुको सानदार असफलतालाई दर्शाउन खोजिएको विकल्प हो। केही आकर्षण, केही आक्रोश र केही चुनौतीका मतले खतराको ‘घण्टी’ बजाएका छन्।
काठमाडौंको वडा नम्बर ३२ बाट मतदान गरेका १८ वर्षीय साइन्द आचार्यले नयाँको ‘डकुमेन्ट’ अध्ययन नगरे पनि पुराना दल र नेताले बनाएको देशको अवस्था हेरेर मतदान गरेको बताए। उनले भने, ‘मैले कसैको पोलिसी स्टडी गरेको छैन। राजनीतिमा मलाई जिरो इन्फरमेसन (शून्य जानकारी) छ। तर देशको अवस्थाबाटै देखिन्छ। पुरानालाई मत दिनु भनेको फेल भइरहेकोलाई फेरि ‘पढाऊ’ भनेजस्तै हो।’
विशेषगरी सहरी क्षेत्रका मतदान केन्द्रमा मतदाताको उत्साहमा कमी देखिएको छ। मतदानलाई उत्सवका रुपमा लिने मतदाताहरुमा कतिले यसलाई कर्तव्यका रुपमा प्रयोग गरेका छन्। तर, आफ्नो मतको सदुपयोग हुनेमा संशय व्यक्त गरिरहेका थिए। काठमाडौंको रत्नराज्य मतदान केन्द्रमा भेटिएकी शर्मिला न्यौपाने मतदान गर्नुपर्ने कर्तव्य सम्झेर त्यहाँ पुगेको बताउँदै थिइन्। उनले भनिन्, ‘यो निर्वाचनपछि केही राम्रो भइहाल्ने आशा छैन। पाएको अधिकार प्रयोग गरौं भनेर आएकी हुँ।’
यसैगरी कोटेश्वर क्षेत्रमा भेटिएका रामनाथ आचार्य यसपल्ट भोट हाल्न गाउँ (कास्की) गएनन्। दलहरुमा मेलमिलाप नदेखिएकाले मान्छेहरु विरक्तिएको उनले बताए। ‘नेताहरुप्रति पनि आशा रहेन। उत्साह कम भयो। देशको हाल यही हो। मनमा उत्साह कसरी होस् त। केका लागि जानु र कसलाई भनेर जानु?’, उनले भने।
यसपल्ट मतदानमा सहभागिता कमजोर हुने संकेत मतदाताले निर्वाचनपूर्व नै गरिसकेका थिए। निर्वाचनअघि स्थलगत रिपोर्टिङ क्रममा रुपेन्देहीको बुटवल बजारमा भेटिएका अर्घाखाँचीका नवराज पाण्डेले आफू, आफ्नो परिवार र आफन्तहरुले मतदान नै नगर्ने निर्णय गरेको बताएका थिए, ‘यसपल्ट भोट हाल्न मन लागेको छैन। जसलाई भोट दिए पनि पनि केही गर्ने होइनन्।’ बुटवलका विभिन्न स्थानमा छरिएको उनका परिवार (दाजुभाइ) गरी ३१ जना मतदाता छन्। यसपल्ट कोही पनि नजाने उनको भनाइ थियो।
यसपल्ट मतदानमा उत्साह नदेखिएको राजनीतिक विश्लेषकदेखि विभिन्न दलका नेता-कार्यकर्तालेसमेत उल्लेख गरेका छन्। विश्लेषक पुरञ्जन आचार्य मोरङ- २ दोहमाना हटिया स्कुलमा रहेको मतदानस्थलका मतदाता हुन्। मतदान केन्द्रमा पुगेपछि उनले फेसबुकमा लेखे, ‘भोट झरेन। ठ्याम्मै। अझै समय छ।’
नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना आफूले मतदान गरेको केन्द्रमा पनि मतदातामा उत्साह नदेखिएको उल्लेख गर्छिन्। उनले ट्विटरमा लेखेकी छिन्, ‘मैले मतदान गर्ने केन्द्रमा एकदम उत्साह कम देखियो।’
२०६४ पछि राष्ट्रिय राजनीतिमा मधेस प्रदेश छुट्टै पहिचानसहित उपलब्ध छ। मधेसका आवाज बोक्ने वाचासहित केही दलले त्यहीँका मतका आधारमा राष्ट्रिय पार्टी बन्दै आइरहेका छन्। संघीय सरकारमा समेत सहभागी भइरहेका छन्। तर, उनीहरु पनि राष्ट्रिय राजनीतिका विकृतिबाट भने अलग हुन सकेका छैनन्। यसपल्ट ब्यालेटबक्समा त्यसको परिणाम पनि देखिनेछ। क्षेत्रीय अजेण्डाबाट राष्ट्रय दल बनिरहेका उनीहरुप्रतिको असन्तुष्टिले केही मतदाता पुराना दलतिरै फर्किएको देखिनेछ। केही मतदाता भने त्यहीँ पनि विकल्प खोज्ने चुनावको रुझानले देखाएको छ।
मतदान हुनुअघि नेपाललाइभले देशका विभिन्न भागमा पुगेर स्थलगत रिपोर्टिङ गरेको थियो। त्यही बेला मतदाताले यसपल्ट केही ‘सरप्राइज’ दिने संकेतसहित समाचार प्रकाशन गरिएका छन्।
स्थलगत रिपोर्टिङका क्रममा भेटिएका धेरै मतदाताले गिजोलिँदै गएको राजनीतिक अवस्थाप्रति आक्रोश प्रकट गरेका थिए र दोहोरिरहेका पुराना दलका पाका नेताप्रति अरुचि प्रकट गरेका थिए। गठबन्धन, गठजोड, तालमेल र चलाखीका कारण पुराना ठूला दलका केही नेता यसपल्ट आउने भेलबाढीमा जोगिने त देखिन्छ। तर उनीहरुको अवस्था घरमा क्षति पुगेपछिको घरमूलीको अवस्था जस्तै हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।