काठमाडौं– नेपाली अभिनय क्षेत्रलाई लामो समयसम्म हाँकेकी नायिका हुन् रेखा थापा। थापा आज सोमबारदेखि ३८ वर्ष लागेकी छिन्। २१ वर्षअघि हिरो फिल्मबाट अभिनय यात्रा सुरु गरेकी थिइन् रेखाले। त्यसयता उनले लामो समयसम्म फिल्ममै बिताइन्। पछिल्लो समय राजनीतिमा सक्रिय हुनुअघिसम्म उनले २०७५ मा ‘मालिका’ फिल्म बनाइकी थिइन्।
त्यसयता पर्दामा सक्रियता कम भएपनि रेखाको उचाईं कम भएको छैन। उनी राजनीतमा सक्रिय छिन्। तर, उनलाई अहिले पनि अभिनय र अभिनेत्रीकै रुपमा चिन्नेहरुको जमात ठूलो छ। एउटा सिंगो पुस्ताले नै हेरेका फिल्महरुमा रेखाले गरेको कामले नै उनको परिचय स्थापित गरेको छ।
रेखाले हालसम्म काम गरेका सिनेमाहरुको सूची लामो छ। सन् १९९९ मा मिस नेपालको शीर्ष १० सम्म पुगेकी रेखाले त्यसअघि मिस कोशी ब्युटी पेजेन्ट पनि जितेकी थिइन्। मोडलिङबाट अभिनयमा प्रवेश गरेकी रेखाले त्यसयता फर्किएर कहिल्यै हेर्नु परेन। अभिनयमा उनको नाम सधैंका लागि याद गरिनेगरि लेखियो, शिलालेखमा जस्तो।
रेखाको फिल्म करिअरमा हेर्ने हो भने उनले काम गरेका धेरै फिल्महरुमा उनको भूमिका केवल नायिकाको रुपमा छैन। दुई दशकभन्दा अघिबाट अभिनयमा हात हालेकी उनले काम गरेका फिल्महरुमा नायकको भूमिका जत्ति थियो, त्यत्ति नै मात्रामा उनले पनि भूमिका निभाएकी थिइन्। त्यो बेला बनिरहेका सिनेमामा उनको यो कदम फरक र क्रान्तिकारी थियो। सिनेमामा महिलालाई वस्तुपरक रुपमा प्रस्तुत भइरहेको बेला रेखा ‘हिम्मतवाली’का रुपमा आएकी थिइन्। ‘लंका’, ‘मेरो जीवन साथी’, ‘हामी तीन भाई’, ‘कसले चोर्यो मेरो मन’जस्ता हिट फिल्महरु रेखाको नाममा छ।
रेखाले केही फिल्मको निर्देशन पनि गरिन्। ‘हिम्मतवाली’, ‘मालिका’, जस्ता फिल्ममा रेखाको भूमिका अभिनेत्रीको रुपमा मात्रै नभएर निर्देशकको रुपमा पनि छ। रेखाले आफ्नो करिअरमा काम गरेका र निर्देशन गरेका अधिकांश फिल्महरुमा उनले महिलाकेन्द्रित विषयवस्तु उठाएकी छिन्। ‘महिला फगत पुरुषका लागि सहाराको वस्तु मात्रै होइन’ भन्ने विचार रेखाको अभिनय यात्रा र निर्देशकीय पक्षले पनि प्रमाणित गरेको छ।
रेखाको पछिल्लो कदम राजनीतिमा छ। माओवादी केन्द्रबाट राजनीति आरम्भ गरेकी रेखा हाल राप्रपामा छिन्। राजनीतिक र सामाजिक जीवनमा उनको सक्रियता हिजो फिल्म क्षेत्रमा भएकै जस्तो छ। रेखाले राजनीतिमा पनि महिलाकेन्द्रित विषय उठाउन छाडेकी छैनन्।
रेखालाई जन्मदिनको शुभकामना!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।