काठमाडौं– नेपाली फुटबल टिमले आगामी महिना इन्डोनेसियामा हुने १८ औं एसियन गेम्सको अन्तिम तयारी थाइल्यान्डमा गर्ने भएको छ। त्यहाँ रहदा नेपालले २ वटा अभ्यास खेल्नेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिमलाई साउन दोस्रो साता थाइल्यान्ड पठाउन लागेको हो। एन्फा प्रवक्ता किरण राइका अनुसार नेपाली टिम आगामी साउद १५ देखि १९ गते भित्रमा थाइल्यान्ड पुग्नेछ। त्यहाँ पुगेपछि नेपालले थाइल्यान्डको टिमसँग अभ्यास खेल खेल्ने राइले बताए। 'नेपाली टिम आगामी १५ देखि १९ गते भित्रमा थाइल्यान्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ।'
यसअघि एसियन गेम्समा समूह 'डी' मा नेपाल, जापान, भियतनाम र पाकिस्तान एकै समूहमा परेका थिए। तर केहि राष्ट्रको सहभागी ढिलो गरी निश्चित भएपछि फेरि ड्र गरिने भएको छ। 'एसियन गेम्समा फुटबलको ड्र फेरि गरिने भएकाले हाम्रो अभ्यास खेल पनि प्रभावित भएको छ। फेरि गरिने ड्रमा नेपाल र थाइल्यान्ड एउटै समूहमा नपरे यू–२३ टिमसँगै २ वटा अभ्यास खेल हुनेछ। नत्र हामी त्यहाँको क्लबसँग अभ्यास खेल खेल्नेछौं, ' राइले नेपाल लाइभसँग भने।

एसियन गेम्समा यू–२३ टिमको प्रतिस्पर्धा हुनेछ। त्यसका लागि नेपाली टिम पनि घोषणा भइसकेको छ। टिममा ३ जना यू–२३ माथिका खेलाडी राख्न पाउने प्रावधान अनुसार गोलकिपर किरण चेमजोङ, रोहित चन्द र भरत खवास पनि छन्।
यू–२३ टिम भएपनि नेपाली टिममा राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता छ। त्यसलै एसियन गेम्सलाई नेपालले साफ च्याम्पियनसिपको तयारीको रुपमा लिएको छ। 'थाइल्यान्ड भ्रमण र एसियन गेम्सलाई हामीले साफ च्याम्पियनसिनको तयारीको रुपमा लिएका छौं,' राइले भने।
आगामी भदौ २ देखि १७ गतेसम्म इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदमा नेपालले फुटबलसहित २७ खेलमा भाग लिँदै छ। सबैले खेलले भिन्न भिन्न तयारी गरिरहेका छन्।
एसियन गेम्सका लागि नेपाली फुटबल टिम
गोलकिपर– किरणकुमार चेम्जोङ, एलन न्यौपाने र सोजित गुरुङ
डिफेन्डर– अनन्त तामाङ, आदीत्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ
मिडफिल्डर– रोहित चन्द, हेमन्त गुरुङ, हेमन्त थापा मगर, अन्जन विष्ट, अभिशेक रिजाल र तेज तामाङ
फरवार्ड– सुनिल बल, भरत खवास, सुमन लामा र विमल घर्तिमगर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।