काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमबाट निरन्तर लामो समय खेल्ने खेलाडी हुन्, शक्ति गौचन। सन् २००२ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका शक्ति गत वैशाखमा ३३ वर्ष पूरा हुँदै ३४ लागेका थिए।
पछिल्लो समय राष्ट्रिय टिमको पहिलो रोजाइमा पर्न भने उनले संघर्ष गर्न परिरहेको छ। गत वर्ष जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा टिममा रहेपनि उनले एक खेलमा पनि मौका पाएनन्।
राष्ट्रिय टिमबाट १६ वर्ष खेलेका शक्ति युरोप भ्रमणका लागि बिहीबार इंग्ल्यान्ड प्रस्थान गर्न लागेको नेपाली टिममा छन्। इंग्ल्यान्डको लर्ड्समा टी-२० सिरिज खेलेपछि नेपालले नेदरल्यान्ड्ससँग एकदिवसीय खेल खेल्नेछ। जुन नेपालको पहिलो एकदिवसीय खेल हुनेछ। त्यहि खेलबाट शक्तिले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिने भएका छन्। उनले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर संन्यासको घोषणा गरेका हुन्। उनले संन्यासबारे दिएको अभिव्यक्ति यस्तो छ:
यो एउटा खुसी र दु:खको क्षण हो। नेपाली समर्थकको अगाडि खेलेर संन्यास लिने चहाना छ। यस्तो भयो मेरो लागि अविस्मणीय क्षण हुनेछ।
मैले प्रशिक्षक, कप्तान र उपकप्तानसँग सल्लाह गरेर युरोप भ्रणमपछि नखेल्ने निर्णय गरेको हुँ। नेपाली क्रिकेटको स्थिति तल्लो तहदेखि टी-२० विश्वकप र एकदिवसीय मान्यतासम्म देखे। लामो यात्रा थियो। यसको बारेमा कुरा गर्न थाले भने दिनभरी नै लाग्नेछ।
हाम्रो नेपाली टिममा युवा खेलाडीको स्तर उत्कृष्ट छ। हामीले पाएको एकदिवसीय मान्यताको युवा खेलाडीलाई उपयोग गरेर फाइदा लिन सक्छौं । एउटा सुनारले पिटेर बनाएर गहना जस्तै हुन् युवा खेलाडी। हामीले युवा खेलाडीलाई प्रयोग गर्नु पर्छ।
मैले छाड्ने बेला यहि हो जस्तो लाग्छ। म भन्दा पनि राम्रो खेल्ने खेलाडी आओस भन्ने चहान्थे। मेरो स्थान लिने खेलाडी आएपछि संन्यास लिन्छु भन्ने गरेको थिए। अहिलेका भाईहरुले मिहिनेत गरिरहेका छन्। मैले हेरिसकेको छु, उनीहरुले क्याम्पमा धेरै राम्रो गरिरहेका छन्।
मलाइ के डर लाग्थ्यो भने एकदिन मैले मेरो ठाँउ छोड्नु पर्छ। इमान्दारीता पूर्वक टिमका लागि योगदान दिदा मेरो ठाँउ अर्को लिन्छ की भन्ने डर लाग्थ्यो।
नेपालले एकदिवसीय मान्यता पाएपछि सबै खेलाडीमा नेपालको लागि खेल्नु पर्छ, मिहिनेत गर्छु पर्छ भन्ने भावना आएको छ। क्रिकेटले धेरै अवसर दिएको छ। अब म जस्तो एक जना मात्र होइन १० खेलाडी निस्कन्छन् भन्ने विश्वास छ। यहि कारण गर्दा मलाई संन्यास लिने सहि समय लागेको हो।
नेदरल्यान्ड्समा पहिलो एकदिवसीय खेल खेलेर इतिहास लेखिनेछ। एकदिवसीय खेल खेल्ने मेरोपनि सपना थियो। जसरी म पहिलो एकदिवसीय खेलेर विदा हुन्छु त्यसरी यो पुस्ताले पहिलो टेस्ट खेलेर विदा होस भन्ने चहान्छु ।
शक्तिबारे नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काको अभिव्यक्ति
यो महत्वपूर्ण क्षण हो। खेलाडी भएपछि आफ्नो देशबाट खेल्ने सपना हुन्छ। खेल्न पाएपछि राम्रो प्रदर्शन गरेर देशलाई चिनाउने लक्ष्य हुन्छ। आफूले सकेको गरेर देश विदेशमा आफुलाई र देशलाई चिनाउने लक्ष्य हुन्छ। यस्तै लक्ष्य प्राप्त गर्नु भएका सबैको दाइ शक्ति गौचनको युरोप भ्रमण अफिसियल रुपमा नेपाली टिमका लागि अन्तिम भ्रमण हुन गइरहेको छ। यसपछि उहाँले संन्यास लिनु हुने भएको छ।
शक्ति गौचन र नेपाली क्रिकेट पर्यायबाची शब्द जस्तै हो। मलाई याद छ म सानो हुँदा नै उहाँको नाम सुनेको थिएँ। शक्ति गौचन जस्तो खेलाडीसँग खेल्न पाउछु भनेर मैले कहिल्यै पनि सोचेको थिइन ।
उहाँले नेपाली क्रिकेटमा धेरै वर्षसम्म योगदान दिनु भएको छ। उहाँको प्रदर्शन र योगदान शब्दमा ब्याख्या गरेर सकिँदैन।
नेपालमा हुने एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा एउटा विदाई खेलबाट घरेलु दर्शकका अगाडि संन्यास लिने उहाँको इच्छा छ।
मन्त्रीज्यू लगायत सबैलाई थहा छ, नेपाल एकदिवसीय खेल खेल्ने टिम बन्दा उहाँको योगदानबिना असम्भव थियो। त्यसैले उहाँलाई सरकारले उच्च सम्मान र पुरस्कार दिन खेलाडीको तर्फबाट आग्रह गर्दछु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।