काठमाडौं- चन्द्र इङ्नामको पहिलो उपन्यास ‘बन्दरगाहमा आमा’ सार्वजनिक भएको छ। समाजसेवामा समेत सक्रिय बेलायत निवासी इङ्नामले पूर्वी नेपालको किराँत समुदायकी आफ्नै आमाको कथालाई उठान गरेर उपन्यास लेखेका हुन्।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच आख्यानकार राजन मुकारुङ, पत्रकार दीपक सापकोटा र समीक्षक वन्दना ढकालले पुस्तक सार्वजनिक गरे।
पुस्तकमाथि बोल्दै ढकालले नेपाली नारी र आमाहरूको मनोविज्ञानमाथि लेखिएको उपन्यासले नेपाली समाजको यथार्थ बोकेको बताइन्। यस्तै पत्रकार तथा निबन्धकार सापकोटाले नेपाली आमाहरूको साझा बिम्बका रुपमा उपन्यास आएको बताए। उनले थपे, ‘उपन्यासको कथाले नेपाली आमाहरूको अर्थ राजनीति तथा सामाजिक परिवेशको यथार्थ उजागर गरेको छ।’
प्रमुख अतिथिसमेत रहेका अर्का वक्ता मुकारुङले उपन्यास भावना र अनुभूतिमा मात्र केन्द्रित नरहेर समग्र सामाजिक जनजीवनको कथामा केन्द्रित रहेको चर्चा गरे।
आफ्नी दिवंगत आमाको स्मरण गर्दै आमाकै नामबाट उपन्यास लेखेको लेखक इङ्नामको भनाइ थियो।
उपन्यासलाई ‘इन्डिगो इन्क’ले प्रकाशनमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।