काठमाडौं– सुनसरीको इटहरीमा बसेर साहित्य सिर्जना गरिरहेका कवि बद्री भिखारीको कवितासंग्रह ‘समुद्र-साउती’ सार्वजनिक भएको छ।
भानु जयन्तीको अवसर पारेर बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा कवि श्यामल, स्वप्निल स्मृति, महेश पौड्याल, जसराज किराँतीले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे।
संग्रहमाथि टिप्पणी गर्दै समीक्षक पौड्यालले भिखारीका कवितामा शालीन विद्रोह र विनम्रता पाइने बताए।
अर्का समीक्षक श्यामलले शक्तिशाली कविताहरूको संग्रह ‘समुद्र-साउती’ले नेपाली कविता साहित्यको इतिहासमा एउटा बलियो खुड्किलो थपेको टिप्पणी गरे।
‘हरेक सर्जक र साहित्यानुरागीहरूले पुस्तक अनिवार्य खरिद गरेर पढ्ने बानी बसाल्नुपर्छ’, उनले भने, ‘यसो गर्न सकिए सर्जक कहिल्यै पनि भोको मर्दैन। अझै उत्कृष्ट साहित्यको सिर्जनामा पे्ररणा मिल्छ।’
प्रमुख अतिथि कवि तुलसी दिवसले भिखारीका कवितामा नविनतम कथ्यसहितको विम्बहरू पाइने बताए।
कवि भिखारीको यो तेस्रो संग्रह हो। यसअघि उनका ‘हत्केलाभरिका रेखाहरू’ (मुक्तकसंग्रह) र ‘माड्सापका झोला’ (कवितासंग्रह) प्रकाशित छन्।
४० कविता संग्रहित ‘समुद्र साउती’ शिखा बुक्सले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।