काठमाडौं– काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको बैठकको प्रत्यक्ष प्रशारण (लाइभ) हुने भएको छ। सोमबार पदभार सम्हाल्दै मेयर बालेन शाहले सोसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका हुन्।
नगर कार्यपालिकाको बैठक सोमबार अपराह्न ४ बजेका लागि बोलाइएको छ। बैठकको कार्यसूची भने सार्वजनिक गरिएको छैन।
शाहले फोहोर व्यवस्थापनलाई प्राथमिकता दिएको बताए। 'तीन/चार दिनअगाडि भनेका थियौँ। हामीले सेलेब्रेसन, खादा माला लगायत टिभी इन्टरभ्युहरुचाहिँ फोहोरको व्यवस्थापन नभएसम्म नगर्ने भनेका छौँ', पत्रकारको जिज्ञासाको उत्तर दिँदै उनले भने।
काठमाडौंबासीले गरेको पापको भोगी सिसडोलबासी भइरहेको मेयर शाहको भनाइ छ। 'हाम्रो फोहोरले गर्दा उहाँहरु क्यान्सर पिडित हुनुभएको छ। छालाको रोग भएको छ। मान्छेहरु मरिरहनुभएको छ। यो शोक मनाउने बेला हो। फोहोर व्यवस्थापन नभएसम्म सिसडोलबासीको स्वस्थ वातावरणमा बस्ने कुरा, स्वच्छ हावामा सास फेर्न पाउने कुरा, स्वच्छ पानी पिउन पाउने कुराको अधिकार पूर्ण नभएसम्म अरु कुरा हामीले अहिले नगर्ने कुरा छ', शाहले भने।
उपमेयर सुनिता डंगोलले पनि पदभार ग्रहण गरेकी छिन्। त्यसपछि प्रतिक्रिया दिँदै उनले पारदर्शी, पवित्र र पारस्परिक रुपमा काम गर्ने बताइन्। 'यी सिद्धान्त र आचरणलाई समावेश गरेर आगामी पाँच वर्षको कार्यकाल काठमाडौं बासिन्दाको लागि, काठमाडौं बासिन्दाको हक हित र अधिकार र उनीहरुको जीवनलाई सहज होस् भन्नका लागि सोही अनुसार काम गर्नेछौँ', उनले भनिन्।
उपमेयर डंगोलले जुनसुकै दलबाट आएको भए पनि आफूहरुले 'टिम वर्क' अनुसार काम गर्नुपर्ने बताइन्। 'अबको प्राथमिकता व्यक्तिको सफलता होइन, संस्थाको सफलता हुनुपर्छ', उनले भनिन्, 'काठमाडौं महानगरपालिका संस्था आफैं सफल भयो भने यहाँको जनता सफल भएको र मत दिएका हरेकको आवाज सफल भएको मान्न सक्छौँ।'
उनले आफूहरुले राखेको प्रतिबद्धतालाई आगामी बजेटमा समावेश गर्ने बताइन्। उनले उपमेयरमा कार्यकारी अधिकार नभए पनि कानुनले दिएका अधिकारको अधिनमा रहेर जतिसक्दो प्रभावकारी काम गर्ने जानकारी गराइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।