दाङ- वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत दाङमा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ। जिल्लाका १० स्थानीय तहमध्ये कांग्रेसले पाँच, माओवादी केन्द्रले तीन र एमालेले दुई स्थानीय तहमा विजय हासिल गरेको छ।
यहाँका दुई उपमहानगरपालिकामा एमालेले जितेको छ। घोराहीको नगरप्रमुखमा नरुलाल चौधरी, उपप्रमुखमा हुमा डिसी विजयी भएका छन् भने तुलसीपुरको नगरप्रमुखमा टिकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएका छन्।
कांग्रेसले लमही नगरपालिकासहित राजपुर, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा विजय हासिल गरेको छ। यि पालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख दुवै जितेको हो।
माओवादी केन्द्रले बङ्गलाचुली, राप्ती र गढवा गाउँपालिकामा विजयी हासिल गरेको छ। यि तीनवटै पालिकाको उपप्रमुखमा भने अन्य पार्टीका छन्।
राप्तीको उपप्रमुखमा एमाले, बङ्गलाचुली र गढवाको उपप्रमुखमा कांग्रेस विजय भएको दाङका मुख्य निर्वाचन अधिकृत रितेन्द्रबहादुर थापाले बताए। वडा तहमा भने एमालेले धेरै सिट जितेको छ। १०० वडा रहेको दाङमा एमालेले ४० वटा वडाध्यक्ष जित्न सफल भएको छ। कांग्रेसले ३७ र माओवादी केन्द्रले १९ वटा वडा जितेको छ।
एकीकृत समाजवादी र जनमोर्चाले एक/एक तथा स्वतन्त्रले दाङमा दुई वटा वडा जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।