चितवन- भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले अबको कार्यकालमा महानगरपालिकामा बेरोजगारी अन्त्य गर्ने घोषणा गरेकी छन्।
भरतपुर महानगरपालिका प्रमुखमा जितेसँगै दाहालले अबको पाँच वर्ष आफ्नो लागि अन्तिम कार्यकाल भएकोले शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा जोड दिने बताइन्। उनले अबको पाँच वर्षमा भरतपुर महानगरपालिकामा बेरोजगार अन्त्य गर्नका लागि रोजगार बैंक स्थापना गर्ने, उद्योग ग्राम स्थापना गर्ने र उद्यमशिलताको विकास गरेर रोजगारी प्रवर्धन गर्ने कुरालाई विशेष प्राथमिकतामा राखेको बताइन्।
दाहालले महानगरपालिकाको ढल व्यवस्थापनको लागि गुरुयोजना तयार गरेर काम गर्ने, नारायणी नदीको पुलको पुनर्निर्माणलाई अघि बढाउने पनि उद्घोष गरिन्। उनले भरतपुर महानगरपालिकालाई देशकै हेर्न र गर्व गर्न नमूना स्मार्ट सिटीको संकल्प पूरा गर्ने, गौरवका आयोजनाहरु जस्तैः सिटी हल, प्रशासनिक भवन, ५ अर्ब बराबरको नारायणी तटबन्ध, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, महानगरिय रिङ रोडको योजनालाई सम्पन्न गर्ने कुरा पहिलो प्राथमिकतामा राख्ने बताइन्। दाहालले गत कार्यकालमा बाँकी रहेका कामहरुलाई यो कार्यकालमा पूरा गर्ने लक्ष्य राखेको पनि बताइन्।
उनले भरतपुरका बाँकी काम पूरा गरेर जनतालाई निराशा हुन नदिने बताइन्।
उनले भनिन्, ‘हामीले सोचेको भन्दा राम्रो मत तथा नतिजा प्राप्त गरेका छौं। सम्पूर्ण महानगरवासीलाई मनैदेखि आभार व्यक्त गर्न चाहन्छु। पहिलो कार्यकालमा जनताको मन जितेर भावना/अपेक्षा अनुसार काम गर्ने कोशिस गरेँ। आफ्नो बलबुता क्षमता वा तागतले भ्याएसम्मको मैले कोशिस गरेँ। म एउटा परीक्षण पार गरेर आएको छु। दोस्रो कार्यकालको लागि पनि विगतका अधुरा कामहरु र जनताले अपेक्षा गरे अनुरुप सकेको मैले कोशिस गर्नेछु।’
३ देखि ७ हजारसम्मको मत अन्तरबाट जित हुन्छ भन्ने आफूहरुलाई लागेको भए पनि त्यसभन्दा धेरै मत पाएकोमा खुसी लागेको बताइन्।
'भरतपुर नगरपालिकाको निर्वाचनमा देशभरको सत्तापक्ष,विपक्ष र विभिन्न तह र तप्काको ध्यान गएको थियो। विपक्षहरुको निसाना पनि थियो। गठबन्धनको उम्मेद्वारलाई चुनाव हराउने भन्ने निसाना थियो। यी सबै जितलाई प्रवाह नगरेर जनताले विगतको कामको सही मूल्यांकन गरेर, पाँच वर्षको कामको अनुमोदन गरिदिनुभएको छ। त्यसप्रति आभार व्यक्त गर्न चाहन्छु । अब आफूले सक्ने कामको कमी हुन दिनेछैन’ उनले भनिन्।
प्रमुखमा आफू विजयी हुनु अघिल्लो कार्यकालमा गरेको उपलब्धिको परिणाम भएको उनको भनाइ थियो। भरतपुरमा दाहालले ५२ हजार ३० मत पाउँदा उनका प्रतिष्पर्धी एमाले उम्मेदवार विजय सुवेदीले ३९ हजार ५८१ मत पाएका छन्। दुईजना बीचको मतान्तर १२ हजार ४४९ रहेको छ। त्यस्तै स्वतन्त्र उम्मेदवार पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे। उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५२ हजार ८०३ मतसहित विजयी भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।