काठमाडौं– विगतमा परम्परागत रुपमा मनाइए पनि नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीको अवसरमा यस वर्ष हुने ‘त्रिदिवसीय हिमवत् खण्ड कला साहित्य सम्मेलन’ जयन्तीको मुख्य आकर्षणको रुपमा देखिएको छ।
भानु जयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गर्ने त्रिदिवसीय सो साहित्य सम्मेलनका लागि हिमाली सभ्यता र संस्कृति भएका विश्वका करीब एक दर्जन मुलुकका ६० भन्दा बढी साहित्य र कलापारखी नेपाल आएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रिय नाचघरमा उद्घाटन गर्ने सम्मेलनमा हिमवत् खण्ड क्षेत्रमा पर्ने विभिन्न मुलुकका साहित्यकारको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए।
भौगोलिक र सांस्कृतिक विविधतायुक्त नेपालको भाषिक एकीकरणका लागि महत्वपूर्ण योगदान दिने आदिकवि आचार्यको २०५औँ जन्मजयन्तीको अवसर पारेर प्रतिष्ठानले ‘त्रिदिवसीय हिमवत् खण्ड कला साहित्य सम्मेलन’ आयोजना गर्न लागेको हो।
नेपालको कला, साहित्य संस्कृतिलाई हिमवत् खण्डमा पुनः जागृत गर्नका लागि सम्मेलन आयोजना गरिएको हिमवत् खण्ड कला साहित्य सम्मेलन मूल समारोह समितिका संयोजक प्रा राजेन्द्र सुवेदीले बताए।
सम्मेलनमा नेपाल, भारत, बर्मा, श्रीलंका, पाकिस्तान, बेलायतलगायत मुलुकका ६० भन्दा बढी स्रष्टाले भाग लिने आयोजक समितिका महासचिव डा देवी नेपालले जानकारी दिए।
सम्मेलनमा हिमवत् खण्ड र साहित्यसम्बन्धी कार्यपत्र प्रस्तुति, जननेता मदन भण्डारीको वृत्तचित्र प्रदर्शनी, बहुभाषिक कवि गोष्ठी, सांस्कृतिक कार्यक्रम हुनाका साथै चन्द्रागिरि अवलोकन र स्थलगत सिर्जना लेखन र प्रस्तुतिसमेत हुनेछ।
१८७१ असार २९ मा तनहुँको चुँदीमा जन्मिएका भानुभक्तले वाल्मीकि रामायणलाई नेपालमा अनुवादन गरेका थिए। उनका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ र ‘वधूशिक्षा’ आदि कृति लोकप्रिय छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।