काठमाडौं– सरकारले यस वर्षको राष्ट्रिय प्रतिभा पुरस्कार पाँच विधाका ५ जना स्रष्टालाई प्रदान गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले यस वर्षको राष्ट्रिय प्रतिभा पुरस्कारबाट संस्कृति विधामा प्रा डा रञ्जना बज्राचार्य, संगीत तथा नाट्य विधामा प्रचण्ड मल्ल, ललितकला विधामा ठाकुरप्रसाद मैनाली र भाषा तथा साहित्य विधामा प्रा डा केशवप्रसाद उपाध्यायलाई सम्मान गरेको हो।
बुधबार काठमाडौंमा एक कार्यक्रममा बीच प्रधानमन्त्री केपी शर्मा ओलीले नगद १ लाखसहितको राष्ट्रिय प्रतिभा पुरस्कारबाट उनीहरुलाई सम्मान गरेका हुन्। त्यसैगरी सरकारले यस वर्षको महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय पुरस्कार पनि ५ विधाका ५ जना स्रष्टालाई प्रदान गरेको छ। कविता विधामा कञ्चन पुडासैनी, निबन्ध विधामा तेजराज खतिवडा, भाषा साहित्यमा महेश्वरराय जलेश्वर, बाल साहित्यमा विनय कसजु, आख्यान विधामा प्रा डा अभि सुवेदीलाई १ लाख नगदसहित सम्मान गरिएको हो।

सम्मानित स्रस्टाहरु
यस वर्षबाट सरकारले सुरु गरेको गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार प्रा डा मोहन हिमांशु थापा र नरेश शाक्यलाई प्रदान गरिएको छ। सो पुरस्कारको राशी पनि नगद एक लाख रहेको छ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले दलितमुक्ति आन्दोलनको क्षेत्रमा योगदान दिएका पदमलाल विश्वकर्मा, समाज सुधारमा क्षेत्रमा योगदान दिएका दलबीर विश्वकर्मा, लेखन तथा अनुसन्धानको क्षेत्रमा योगदान दिएका राजेन्द्र महर्जनलाई पनि १ लाख नगदसहित सम्मान गरे।
सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले सबै भाषा, संस्कृतिलाई एकतावद्ध बनाएर मुलुकलाई अघि बढाउन चाहेको स्पष्ट पारे। त्यस अवसरमा उनले सरकारले युवालाई प्रोत्साहन र पाकालाई सम्मानको नीति लिएको पनि स्मरण गराए।
प्रधानमन्त्री ओलीले २०५१ सालमा आफू पहिलो पटक गृहमन्त्री हुँदा सुरु गरिएको स्रष्टा सम्मान कार्यक्रमलाई विस्तार गर्दै लैजाने अवसर मिलेको भन्दै खुसि व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।