काठमाडौं– स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको पाँच दलीय सत्ता गठबन्धनले चैत २६ गतेसम्म जिल्लाको चुनावी अवस्थाको रिपोर्टिङ गर्न निर्देशन दिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनसम्वद्ध निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले यस्तो निर्देशन दिएको हो।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले चैत २६ गतेभित्रमा देशैभरबाट रिपोर्टिङ बुझाइसक्न निर्देशन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
‘आज मोडालिटी लगायतका विषयमा केही कुराकानी भएको छ। जिल्ला समितिलाई २६ गतेभित्र विस्तृत रिपोर्ट पठाइसक्न भनेका छौं,’ उनले भने, ‘त्यसपछि २७ गते अर्को बैठक बसेर हामी निर्णय गर्छौं।’
बैठकमा विभिन्न जिल्लास्तरमा भएका निर्णय र त्यहाँस्थित पार्टीका स्थानीय कमिटीले गरेका निर्णयका बारेमा पनि आजको बैठकमा छलफल भएको छ।
पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको केहीदिन अघि बसेको बैठकले चुनावी तालमेल गरेर जाने निर्णय गरेको थियो। वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।