काठमाडौं- निर्वाचन आयोगले मतगणनालाई सहज बनाउन हरियो रङको निर्वाचन चिह्न राख्ने निर्णय गरेको बताएको छ। बिहीबार आयोगमा भएको सर्वदलीय बैठकमा आयोगको तर्फबाट प्रस्तुत गरिएको छलफलका बुँदामा सो विषय उल्लेख छ।
'आगामी स्थानीय तह सदस्य निर्वाचनको लागि मतपत्रको ढाँचा तथा मतपत्रमा हुने निर्वाचन चिह्न तथा विवरण छपाइ गर्ने रङको उपयुक्तता सम्बन्धमा प्राविधिक समितिले अध्ययन गरी मत संकेत गर्न प्रयोग हुने स्वस्तिक छापमा निलो रङको प्रयोग हुने हुँदा रङ विविधता तथा मतगणनालाई थप सहज बनाउन सेतो कागजमा हरियो रङको निर्वाचन चिह्न र विवरण छपाइ गर्न उपयुक्त हुने सुझाव दिए अनुसार आयोगले आवश्यक प्रक्रिया अगाडि बढाएको', आयोगद्वारा प्रस्तुत बुँदामा भनिएको छ।
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७४ मा हरियो रङ, प्रदेश सभा सदस्य निर्वाचन २०७४ मा कालो रङ र दुवै समानुपातिक निर्वाचन प्रणालीमा रातो रङ र स्थानीय तह निर्वाचन, २०७४ मा निलो रङको मसी प्रयोग गरिएको पनि स्मरण गराएको छ।
यसैगरी, आगामी स्थानीय तहको निर्वाचनमा मोरङमा सर्वाधिक मतदाता हुने भएका छन्। सर्वदलीय बैठकमा आयोगले वितरण गरेको जानकारी अनुसार मोरङमा ७ लाख १७ हजार ५७ मतदाता छन्। त्यस्तै, झापामा ६ लाख ५० हजार २ सय ५८ र काठमाडौंमा ६ लाख ४० हजार ५८ मतदाता छन्।
सबैभन्दा कम मतदाता मनाङमा छन्। मनाङमा ६ हजार ५ सय ७१ मतदाता छन्। त्यस्तै, मुस्ताङमा १० हजार ७ सय ९० र डोल्पामा २२ हजार ६ सय ५१ मतदाता छन्।
सबैभन्दा बढी जनसंख्या भएको पालिका काठमाडौं महानगरपालिका हो। जहाँ ३ लाख ५ सय ८७ मतदाता छन्। त्यस्तै, सबैभन्दा कम मतदाता मनाङको नार्पाभूमि हो। जहाँ ४५० मतदाता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।