काठमाडौं– स्पेनलाई सन् २०१० को विश्वकप फुटबल प्रतियोगिताको उपाधि दिलाउन फाइनलमा निर्णायक गोल गरेका आन्द्रेस इनिस्टाले अन्तत: अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन्।
२०१८ फिफा विश्वकपअन्तर्गत अन्तिम १६ को खेलमा आयोजक रसियासँग पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित भएपछि मिडफिल्डर इनिस्टाले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका हुन्।
आइतबार देशका लागि १ सय ३१ औं खेल खेल्दा ३४ वर्षीय इनिस्टाले देशका लागि अन्तिम प्रहार पेनाल्टी सुटआउटमार्तफ गरे। जसमा उनी गोल गर्न सफल भए। तर, उनको टिम स्पेन विश्वकपबाट बाहिरिन बाध्य भयो।
'सबै कुराको सुरुवात र अन्त्य हुन्छ। मेरो लागि लामो यात्रा अब सकिएको छ,' इनिस्टाले भनेका छन्।
सन् २००६ मा राष्ट्रिय टिममा डेब्यू गरेका इनिस्टा स्पेनिस टिममा प्रतिभाशाली मिडफिल्डर हुन्। मिडफिल्डमा बललाई चारै तिर घुमाउन सक्ने उनको कला संसारभरीका फुटबल पारखीले रुचाउथे।
चाहिएको बेलमा पास दिन सक्ने तथा गोल गर्न सक्ने उनमा उद्भूत कला थियो। सन् २०१० मा नेदरल्यान्ड्स विरुद्धको फाइनलमा उनले गोल गर्दा स्पेनले पहिलोपटक विश्वकपको ट्रफी उचालेको थियो। विश्वकप बाहेक स्पेनले सन् २००८ र २०१२ को युरो कप जित्दा इनिस्टा टिमका महत्वपूर्ण सदस्य थिए।
१२ वर्षको करिअरको अन्तिम खेल भने उनका लागि पीडादायी रह्यो। 'कहिलेकाँहा सोचेको जस्तो बिदाइ हुन सक्दैन,' इनिस्टाले भने, 'यो मेरो करिअरकै दुखद् दिन हो।'
स्पेनका प्रशिक्षक फर्नान्डो हिएरोले स्पेनको फुटबल इतिहासमा इनिस्टामहान् खेलाडी मध्येका एक भएको बताए। 'उनलाई सब्सिच्युटर गराएर मैदान पठाउनपहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लगेको जस्तो देखिथ्यो।खेलप्रतिको लगाव देखेर नतमस्तक छु,' फर्नान्डोले भने।

१२ वर्षको उमेरमा उनी स्पेनिस महारथी क्लब बार्सिलोनामा आवद्ध भएका थिए। सन् २००२ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका इनिस्टाले १६ सिजन खेलेका थिए। तर गत सिजनको अन्त्यबाट उनले बार्सिलोना पनि छाडेका थिए। त्यसपछि उनी जापानिज भिसेल कोबेमा आवद्ध भएका थिए। बार्सिलोनामा २२ वर्ष रहदा उनले ६ सय ७४ खेल खेल्दै ३२ उपाधि जित्न सफल भए।

क्लब छाड्दा उनले बार्सिलोनाबिरुद्ध कहिल्यै नखेल्ने बताएका थिए। त्यसैले उनले युरोपका विभिन्न क्लबको प्रस्ताव अस्विकार गर्दै जापानिज क्लब रोजे। अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएपनि इनिस्टाको कलात्मक खेल क्लब फुटबलमा भने अझै केहि वर्ष देख्न पाइनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।