काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा आयोजक रसिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सन् २०१० को विश्वविजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गर्दै रसियाले अन्तिम ८ मा स्थान पक्का गरेको हो।
पेनाल्टी सुटआउटमा स्पेनका लागि आन्द्रेस इनिस्टा, जेरार्ड पिके र सर्जियो रामोसले गोल गरे। कोके र इस्पासका प्रहारलाई रसियाका गोलकिपरले बचाए।
रसियाका स्मोलोभ, सेर्जेइ इंग्नासेभिच, गोलोभिन र चेरिसेभको गोल गरेका थिए।
अब क्वार्टरफाइनलमा रसियाले डेनमार्क र क्रोएसियाबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
त्यसअघि निर्धारित समय र थप गरिएको ३० मिनेटमा दुवै तर्फबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।
खेलको १२ मिनेटमा रसियाका सेर्जेइ इंग्नासेभिचले आफ्नै पोस्टमा गोल गरेपछि स्पेनले अग्रता लियो। फ्रिकिक बलमा स्पेनका कप्तान सर्जियो रामोसलाई रोक्ने क्रममा सेर्जेइले आफ्नै पोस्टमा गोल गरेका थिए।
तर ४१ मिनेटमा रसियाले बराबरी गोल फर्काउन सफल भयो। जेरार्ड पिकेले आफ्नै डिबक्सभित्र हेड गर्ने क्रममा हालले बल छोएपछि रेफ्रीले पेनाल्टी दिने निर्णय गरेका थिए। प्राप्त पेनाल्टीमा डिज्युवाले गोल गरेका थिए।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।