मस्को, रूस- विश्वकप फुटबलमा पहिलोपटक प्रयोग भएको कम्प्युटर प्रणाली भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रविधिबाट ९९.३ प्रतिशत सही निर्णय दिन सफलता मिलेको अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले जनाएको छ। समूह चरणका बिहीबारसम्म भएका खेलहरूमा जम्मा ३३५ घटनालाई जाँच गरेमा ९९.३ प्रतिशत सही निर्णय भएको फिफाको दाबी छ।
फिफाले रसियामा जारी विश्वकप फुटबलका खेलहरूमा पहिलोपटक कम्प्युटर प्रणाली भिएआरको प्रयोग गरेको हो।

विश्वकपका सबै १२२ गोलहरू भिएआरले परीक्षण गरेको थियो। अन्य खेल अवधिमा लाइनक्रस, अपसाइड तथा खेलाडीका गतिविधि हेर्नका लागि पनि प्रयोग गरिएको फिफा रेफ्री समितिका अध्यक्ष पियरलुइजी कोलिनाले बताए।
भिएआर प्रणालीको हस्तक्षेपका कारण निर्णय सच्चाइएका घटना भने जम्मा १४ वटा रहेको उनको भनाइ छ। निरीक्षण भएका १४ घटनामध्ये तीन वटा मूल्याङ्कन रेफ्रीको कम्प्युटर मनिटर अगाडिको उपस्थितिबिना नै गरिएको थियो भने अन्य मुल्याङ्कनमा रेफ्री आफै स्क्रिनअगाडि बसेर हेरेका थिए।

रेफ्रीले भिएआर प्रणालीको सहयोगबिना लिएका ९५ प्रतिशत निर्णय सही पाइएको थियो भने प्रणालीले निर्णयलाई थप प्रभावकारी बनाउँदा ९९.३ प्रतिशत नतिजा सही बन्न पुगेको फिफाको ठहर छ।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।