काठमाडौं- २०१८ फिफा विश्वकप प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन जर्मनी समूह चरणबाटै घर फर्किएको छ। बुधबार भएको समूह 'एफ' को महत्वपूर्ण खेलमा दक्षिण कोरियासँग २-० गोलले पराजित भएपछि जर्मनी समूह चरणबाट बाहिरिएको हो।
कोरियाले दुवै गोल दोस्रो हाफको इन्जुरी टाइममा गरेको थियो। किम योङगवनले इन्जुरी टाइमको तेस्रो तथा एच सनले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेका थिए।
जर्मनी पहिलो खेलमा मेक्सिकोसँग १-० गोलले पराजित भएको थियो। दोस्रो खेलमा जर्मनीले स्विडेनलाई पराजित गरेको थियो।

समूहको अर्को खेलमा स्विडेनले मेक्सिकोलाई ३-० गोलले पराजित गर्दा पनि जर्मनीलाई घाटा पर्यो। स्विडेनका जितमा अगुटसनले ५० र गानभिस्टले ६५ मिनेटमा गोल गरेका थिए। यस्तै ७४ मिनेटमा मेक्सिकोका अल्भेजले आफ्नै पोस्टमा गोल गरेपछि स्विडेन ३-० ले अघि बढेको थियो।
समूहमा ६ अंक जोडेको स्विडेन समूह विजेता बन्दै अन्तिम १६ मा पुग्यो। ६ अंक नै जोडेको मेक्सिको समूह उपविजेताको रुपमा नकआउट चरणमा पुग्यो। कोरिया ३ अंक जोड्दै तेस्रो र जर्मनी ३ अंक नै जोडेर चौथो स्थानमा रहदा समूह चरणबाट बाहिरिए।
अंक तालिका


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।