समूह 'ई'
सर्विया भर्सेस ब्राजिल
स्विट्जरल्यान्ड भर्सेस कोस्टारिका
समय– असार १३ गते, राति ११:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा आज राति पौने १२ बजे समूह 'ई'का अन्तिम खेलहरु हुँदैछन्। प्रतियोगिताको दाबेदार मध्येको एक ब्राजिल र सर्विया तथा स्विट्जरल्यान्ड र कोस्टारिकाबीच हुने खेलपछि नकआउट चरणमा पुग्ने २ टिमको टुंगो लाग्नेछ।
कोस्टारिका लगातार दुई खेलमा पराजित भएपछि बाहिरिसकेको छ। अब ब्राजिल, स्विट्जरल्यान्ड र सर्विया मध्ये २ टिम अन्तिम १६ मा पुग्नेछन्। ब्राजिल र स्विट्जरल्यान्डले समान १–१ खेलमा जित र बराबरी खेल्दै ४–४ अंक जोडेका छन्। १ खेलमा जित र १ खेलमा हार बेहोरेको सर्वियाको ३ अंक छ।

अन्तिम १६ मा पुग्न कसलाई के चाहिन्छ?
● सर्वियासँग कम्तिमा बराबरी खेले ब्राजिल नकआउट चरणमा पुग्नेछ। जितले ब्राजिल समूह विजेता हुने सम्भावना हुनेछ। हार बेहोरेको खण्डमा भने ब्राजिल बाहिरिन सक्छ। यद्यपी कोस्टारियकाले जितेको अवस्थामा हार्दा पनि ब्राजिलको सम्भावना भने हुनेछ।
● बराबरी खेले ब्राजिल र स्विट्जरल्यान्ड जितेमा दुवै टिम अन्तिम १६ मा पुग्नेछन्। यो अवस्थामा दुवै टिमको समान अंक हुनेछ। गोलअन्तरको आधारमा समूह विजेताको टुंगो लाग्नेछ। गोलअन्तर पनि समान भए कार्ड पाएको आधारमा निर्णय हुनेछ। अहिलेसम्म ब्राजिलले ३ र स्विट्जरल्यान्ड ४ पहेँलो कार्ड पाएका छन्।
● स्विट्जरल्यान्डलाई अन्तिम १६ मा पुग्न कोस्टारिकासँग बराबरी खेले पुग्छ। यद्यपी सर्वियालाई ब्राजिलले हराएमा स्विट्जरल्यान्ड हार्दा पनि अन्तिम १६ मा पुग्छ।
● यदि स्विट्जरल्यान्ड पराजित भएमा तथा सर्विया बराबरीमा रोकिए खेले दुवै टिमको समान अंक हुनेछ। यो अवस्थामा गोलअन्तर र कार्डको आधारमा अन्तिम १६ मा पुग्ने टिमको निर्णय हुनेछ।
● ब्राजिललाई पराजित गरे सर्विया अन्तिम १६ मा पुग्नेछ। बराबरी खेल्दा पनि सर्विया अन्तिम १६ मा पुग्छ। यसका लागि स्विट्जरल्यान्ड पराजित हुनु पर्नेछ र गोलअन्तरमा अघि हुनु पर्नेछ।
सर्विया भर्सेस ब्राजिल
मस्कोको स्पार्टक रंगशालामा हुने खेलमा सर्विया जित निकाल्नै पर्ने अवस्थामा छ। स्विट्जरल्यान्ड विरुद्धको खेलमा अन्तिम समयमा गोल खाएपछि सर्विया २–१ गोलले स्तब्ध बनेको थियो। पाँच पटकको विश्वविजेता ब्राजिललाई पराजित गर्नु पर्ने अवस्थामा रहेको सर्विया दबावमा हुनेछ।
अघिल्लो चरणमा पुग्न बराबारी प्रयाप्त हुने ब्राजिलियन टिममा विंगर डाउलास कोस्टा उपलब्ध हुने छैनन्। उनी कोस्टारिका विरुद्धको खेलमा घाइते भएका थिए। अघिल्ला खेलमा ब्राजिलले रणनीति अनुसार खेल्न सकेको थिएन। त्यसलै सर्विया विरुद्ध टिममा परिवर्तन हुन सक्नेछ।
स्विट्जरल्यान्ड भर्सेस कोस्टारिका
स्विट्जरल्यान्डले पछिल्ला २ खेलमा प्रभावशाली खेल खेलेको थियो। ब्राजिललाई बराबरीमा रोकेको उसले सर्वियाविरुद्ध अन्तिम समयमा रोमाञ्चक जित हात पार्योल। सर्विया विरुद्ध स्विट्जरल्यान्डले १ गोलले पछि परेको अवस्था उल्टाएको थियो। अब स्विट्जरल्यान्डलाई बराबरी काफी हुनेछ। अर्कोतर्फ प्रतियोगिताबाट बाहिरिसकेको कोस्टारिकासँग खेल्दा स्विट्जरल्यान्डलाई सहज हुने देखिन्छ। त्यसो त स्विट्जरल्यान्ड कोस्टारिकासँग अहिलेसम्म अपराजित छ।
यता लगातार दुई खेलमा पराजित भएको कोस्टारिकाको आफ्नै लक्ष्य छ। गत संस्करणमा उत्कृष्ट खेलेको कोस्टारिकाका कप्तान केलर नाभास प्रतियोगिताको अन्त्य जितबाट गर्न चाहान्छन्। जसले स्विट्जरल्यान्ड सपना चकनाचुर बन्न सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।