समूह 'एफ'
दक्षिण कोरिया भर्सेस जर्मनी
मेक्सिको भर्सेस स्विडेन
समय– असार १३ गते, राति ७:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा आज राति पौने ८ बजे समूह 'एफ'का अन्तिम खेलहरु हुँदैछन्। साबिक विजेता जर्मनी र दक्षिण कोरिया तथा मेक्सिको र स्विडेनबीच हुने खेलपछि नकआउट चरणमा पुग्ने २ टिमको टुंगो लाग्नेछ भने २ टिम बाहिरिनेछन्।
समूहमा लगातार २ जित निकालेको मेक्सिको सबैभन्दा सहज अवस्थामा छ। जर्मनी र स्विडेनले समान १–१ खेलमा जित र हार बेहोरेका छन्। दुवै टिमको उत्तिकै सम्भावना छ। यता लगातार २ खेलमा पराजित भएको दक्षिण कोरियाको सम्भावना भने कठिन छ।

अन्तिम १६ मा पुग्न कसलाई के चाहिन्छ?
● मेक्सिकोलाई अन्तिम १६ मा पुग्न स्विडेनविरुद्ध बराबरी खेले पुग्छ। बराबरीले मेक्सिको समूह विजेता बन्नेछ। हार बेहोर्दा भने मेक्सिको बाहिरिन सक्छ। तर यसका लगि अर्को खेलमा जर्मनीले जितेमा हार बेहोर्दा मेक्सिको बाहिरिन सक्छ।
● स्विडेन जर्मनीलाई पछि पार्दै अन्तिम १६ मा पुग्न सक्छ। जसका लागि स्विडेनले जित निकाल्नुपर्ने हुन्छ। जित निकालेको स्विडेनका लागि जर्मनी हारेमा अन्तिम १६ मा स्थान पक्का हुनेछ। जर्मनीले जित हात पारेको अवस्थामा भने जितेको स्विडेन गोल अन्तरमा अघि रहनुपर्छ।
● जर्मनीलाई अन्तिम १६ मा पुग्न जित निकाल्नुपर्छ। अर्को खेलमा स्विडेन पराजित भएमा जर्मनीलाई हार बा बराबरी पनि अन्तिम १६ मा पुग्न काफी हुन्छ। कोरियासँग हारेको जर्मनीलाई अन्तिम १६ पुग्न स्विडेन पराजित हुनुपर्छ। यो अवस्थामा जर्मनी गोल अन्तरमा अघि रहेर अन्तिम १६ मा पुग्नेछ।
● यदि दुवै खेल बराबरी भएमा मेक्सिको अन्तिम १६ पक्का हुनेछ। जर्मनी र स्विडेनमध्ये गोल अन्तरमा अघि हुने एक टिम अन्तिम १६ मा पुग्नेछ। यदि दुवै टिमको गोल अन्तर समान भएमा जर्मनीको सम्भावना हुनेछ। किनकि हेड टु हेडमा जर्मनी अघि छ।
● दक्षिण कोरियाका लागि अन्तिम १६ मा पुग्न जितको विकल्प छैन। कोरियालाई जितेर मात्र पुग्दैन स्विडेन पराजित हुनुपर्छ। जर्मनी र स्विडेन हारेको अवस्थामा दक्षिण कोरिया गोल अन्तरमा अघि रहेर नकआउट चरणमा पुग्नेछ।
दक्षिण कोरिया भर्सेस जर्मनी
स्विडेनलाई अन्तिम समया पराजित गरेको जर्मनीलाई राहत मिलेको थियो। पहिलो खेलमा मेक्सिकोसँग हारेको पीडा यो जितले मल्हम लगाइदियो। अब जर्मनी कोरियालाई हराएर अन्तिम १६ को यात्रा गर्न चाहन्छ। स्विडेनलाई जर्मनीले पराजित गरेपछि कोरियाले खुसी मनाएको थियो। अब त्यही जर्मनीलाई हराउन सके मात्र कोरियाको अन्तिम १६ मा सम्भावना हुनेछ।
जर्मनीका लागि सुरुवाती २ खेल आश्चर्यजनक थिए। पहिलो खेलमा हार र दोस्रो खेलमा अन्तिम समय जित हात पारेपछि फरवार्ड थोमस मुलरले जर्मनी अब खेलमा फर्किएको बताएका थिए। तर एसियन टिम दक्षिण कोरियाले अर्को आश्चर्यजनक नतिजा ननिकाल्ला भन्न सकिन्न। कोरियाले जित हात पारे जर्मनी इतिहासमै पहिलो पटक समूह चरणबाट घर फर्किने सम्भावना हुनेछ।
मेक्सिको भर्सेस स्विडेन
साबिक विजेता जर्मनीलाई हराएपछि मेक्सिको उच्च मनोबलमा छ। स्विडेनले प्रतियोगितामा प्रभावशाली खेल पस्किसकेको छ। जर्मनीसँग अन्तिम मिनेटमा पराजित भएको स्विडेन र मेक्सिकोबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
मेक्सिको कम्तीमा बराबरी खेल्ने लक्ष्यमा हुनेछ। अघिल्ला खेल जस्तै आक्रामक खेल्दा स्विडेनले फाइदा उठाउन सक्नेमा मेक्सिको सचेत छ। किनकि स्विडेनको एक मात्र लक्ष्य जित हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।