काठमाडौं- २०१८ फिफा विश्वकप प्रतियोगिताको सुरुवाती २ खेल जितविहीन बनेपछि अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरामा परेको थियो। विश्वकै उत्कृष्ट खेलाडी लिओनल मेसीको कप्तानीमा उत्रिएको २ पटकको विश्वविजेता अर्जेन्टिनाले यस्तो खराब सुरुवात सोच्न पनि सकेको थिएन। अर्कोतर्फ मेसीका लागि विश्वकप जित्ने यो अन्तिम अवसर हुने ठानिएको छ। किनकि सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा मेसी ३५ वर्षका हुनेछन्। त्यबेलासम्म उनले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिन सक्नेछन्।
संन्यास फिर्ता गरेर फर्किएका मेसीका लागि २०१८ को विश्वकपको सुरुवातमै झड्का लाग्यो। नवप्रवेशी आइसल्यान्डसँग बराबरीमा रोकिएको खेलमा मेसीले पेनाल्टी मिस गरे। अर्को खेलमा क्रोएसियासँग ३–० गोलले हार्दा मेसीको मुहारबाट मुस्कान गायब भएको थियो।
तर नाइजेरियाविरुद्ध बुधबार रातिको खेलमा भने मेसीले उत्कृष्ट प्रदर्शन गरे। जसले मेसीप्रति सारा अर्जेन्टाइन फुटबलप्रेमी पुलकित बने। मेसीले नाइजेरियाविरुद्ध गरेको पहिलो गोल निकै आकर्षक थियो। सेभिल्लाका मिडफिल्डर इभर बनेगाले मध्यभागबाट दिएको लामो पास मेसीले पहिले तिघ्राले नियन्त्रण लिए। त्यसपछि देब्रे खुट्टाले बल मिलाएर दाहिने खुट्टाले प्रहार गरे। बनेगाले मध्यभागबाट डिबक्स नजिक नाइजेरियन डिफेन्डरअघि मिलाएको पास मेसीले आकर्षक ढंगले अघि बढाउँदै ३ 'टच' मा गोल गरे।

दोस्रो हाफमा पनि मेसीले आकर्षक मौका पाएका थिए तर गोल गर्न सकेनन्। उनले डिबक्स नजिकबाट गरेको फ्रिकिक प्रहार नाइजेरियाका गोलकिपर फ्रान्सिस उजोहोले पन्च गरेर बचाए।
प्रशिक्षक जोर्गे साम्पाओलीप्रति अर्जेन्टाइन खेलाडी असन्तुष्ट रहेको बेला मेसी नै आशाका केन्द्र बनेका थिए। अघिल्लो खेलमा एक्लिएका मेसीले निर्णायक खेलमा भने थोरै साथ पाएका छन्। जहाँ उनले आफूलाई प्रमाणित गरेर अर्जेन्टिनालाई विश्वकपमा बौराइदिएका छन्। ४ मिनेट बाँकी छँदा म्यानचेस्टर युनाइटेडका डिफेन्डर मार्कोस रोजोले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्दा आर्जेन्टिनाले २–१ को जित निकालेर अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो।
खेलपछि मेसीले समूह चरणमा धेरै पीडा पाएको बताए। 'हामीले धेरै पीडा बेहोर्यौं। अहिले धेरै राहत महसुस भएको छ। यति धेरै पीडा हुन्छ भन्ने सोचेका पनि थिएनौं,' मेसीले भने।
अब अर्जेन्टिनाले प्रिक्वार्टरफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। खेलअघि मेसीले फ्रान्ससँग भिड्दा अर्जेन्टिनालाई कठिन हुने बताए। 'हामीले फ्रान्सको सबै खेल हेरेका छौं। उनीहरुको शैली पछ्याएका छौं। फ्रान्स एकदमै राम्रो टिम हो। खेलाडीहरु पनि प्रतिभाशाली छन्। केही खेलाडी तीव्र गतिमा खेल्न सक्छन्। हामीलाई हाम्रो क्षमता थाहा छ। पक्कै पनि हामीलाई सजिलो छैन,' मेसीले भने।

नाइजेरिया विरुद्धको जितले अर्जेन्टिनामा आत्मविश्वास बढेको छ। तर अन्तिम १६ मा प्रतियोगिताकै बलियो मध्येको एक टिम फ्रान्ससँग भिड्न पक्कै गाह्रो छ। मेसीले पनि फ्रान्ससँग कठिन परीक्षा हुने स्विकार गरेका छन् तर यो कठिन चुनौती पार गर्न मेसी नेतृत्वको टिमलाई अवसर पनि छ।
भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।