काठमाडौं- निर्णायक खेलमा नाइजेरियालाई पराजित गर्दै दुई पटकको विश्वविजेता अर्जेन्टिना २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। बुधबार बिहान सकिएको खेलमा अर्जेन्टिनाले नाइजेरियालाई २-१ गोलले पराजित गर्दै समूह 'डी' को उपविजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गरेको हो। हारसँगै नाइजेरिया बाहिरिएको छ।
अर्जेन्टिनाका लागि लिओनल मेसीले १४ मिनेटमा उत्कृष्ट गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। तर ५१ मिनेटमा नाइजेरियाले पेनाल्टीमार्फत गोल फर्कायो। मास्चिरानोले फल गरेपछि प्राप्त पेनाल्टीमा नाइजेरियाका भिक्टर मोएसेसले गोल गरेका थिए। ८६ मिनेट मार्कोस रोजोले गोल गरेपछि अर्जेन्टिनाले दोस्रो पटक अग्रता लिएको थियो।
समूहको अर्को खेलमा क्रोएसियाले आइसल्यान्डलाई २-१ गोलले हराएको फाइदा पनि अर्जेन्टिनालाई पुग्यो। आइसल्यान्ड हार्दा अर्जेन्टिनाले सहज रुपमा उपविजेता बन्यो भने आइसल्यान्ड बाहिरियो।
यसअघि पहिलो खेलमा आइसल्यान्डसँग बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३-० गोलले पराजित भएको थियो। तर अन्तिम खेलमा नाइजेरियालाई हराउदै अर्जेन्टिना अन्तिम १६ मा पुग्न सफल भयो।
यता लगातार ३ खेल जितेको क्रोएसिया समूह विजेता बनेर अन्तिम १६ मा पुगेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।