समूह डी
अर्जेन्टिना भर्सेस नाइजेरिया
क्रोएसिया भर्सेस आइसल्यान्ड
समय : असार १२ गते, राति ११:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह 'डी' को निर्णायक भिडन्तमा आज मध्यरातमा २ खेल हुँदैछ। अर्जेन्टिना र नाइजेरियाबीच प्रतिस्पर्धा हुने समयमै क्रोएसिया र आइसल्यान्ड भिड्दैछन्।
लगातार दुई जित निकाल्दै क्रोएसिया नकआउट चरणमा पुगिसकेको छ। अब नाइजेरिया, आइसल्यान्ड र अर्जेन्टिना मध्ये १ टिम अन्तिम १६ मा पुग्नेछ। ३ अंक जोडेको नाइजेरिया सहज अवस्थामा छ भने १–१ अंक जोडेका अर्जेन्टिना र आइसल्यान्डलाई कठिन छ। तीन वटै टिमलाई अन्तिम १६ मा पुग्न अर्को टिमको नतिजासँग निर्भर हुनु पर्नेछ।
कसलाई कस्तो समिकरण चाहिन्छ ?
● क्रोएसिया नकआउट चरणमा पुगिसकेको छ। समूह विजेता बन्न उसलाई आइसल्यान्डसँग बराबरी खेले पुग्छ।
● अर्जेन्टिनालाई हराए नाइजेरिया अन्तिम १६ मा पुग्नेछ। क्रोएसिया र आइसल्यान्ड बराबरी भएको अवस्थामा नाइजेरियालाई बराबरी पनि काफी हुनेछ।
● अर्जेन्टिना र नाइजेरिया बराबरीमा भएमा आइसल्यान्डको सम्भावना हुनेछ। यो समिकरणका लागि आइसल्यान्डले क्रोएसियालाई २ गोलको अन्तरमा पराजित गर्नु पर्नेछ।
● अर्जेन्टिनालाई अन्तिम १६ मा पुग्न जितको विकल्प छैन। आइसल्यान्ड हारेको अवस्थामा अर्जेन्टिनालाई जित काफी हुनेछ। आइसल्यान्डले जितेको अवस्थामा अर्जेन्टिनाले नाइजेरियालाई २ गोल भन्दा बढी अन्तरले पराजित गर्नु पर्ने अवस्था छ।

सवैको ध्यान अर्जेन्टिना र नाइजेरियाबीचको खेलमा
दुई पटकको विश्वविजेता अर्जेन्टिनाले सुरुवाती २ खेलमा जित निकाल्न सकेन। विश्वका उत्कृष्ट खेलाडी लिओनल मेसी चल्न नसक्दा विश्वभर रहेका अर्जेन्टिनाका समर्थक निरास छन्। समूह चरणको अन्तिम खेलमा नाइजेरियासँग भिड्दा अर्जेन्टिनाको झिनो आसा भने बाँकी छ।
अघिल्लो खेलमा आइसल्यान्डलाई २–० ले पराजित गरेको नाइजेरिया लयमा फर्किएको छ। त्यसलै उसले अर्जेन्टिनालाई कडा टक्कर दिने विश्वास गरिएको छ। अर्जेन्टिना र नाइजेरिया नयाँ प्रतिद्वन्द्वी होइनन्। दुई टिम विश्वकपमा पाँचौ पटक भिड्न लागेका हुन्। यसअघिका चार भिडन्तमा अर्जेन्टिना विजयी हुँदै आएको छ।
सुरुवाती २ खेलमा राम्रो खेल्न नसकेपछि नाइजेरिया विरुद्धको खेलमा अर्जेन्टिनाको टिममा केहि परिवर्तन हुन सक्नेछ। नाइजेरियाले आइसल्यान्ड विरुद्ध २ गोल गरेका अहमेद मुसासहितको टिमबाट ठूलो अपेक्षा गरेको छ। युवा खेलाडीबाट आसा गरेको नाइजेरिया आत्मविश्वासी पनि देखिएको छ। जितका लागि प्रशिक्षक जेर्नोट रोहले अर्जेन्टिना बिरुद्ध ४–२–३–१ वा ३–५–२ मध्ये कुन फर्मेसनमा खेलाउछन् त्यो हेर्न भने बाँकी छ।
अर्जेन्टिनाका लागि सवैभन्दा ठूलो चुनौती 'मोमेन्टम' बनाउन सक्नु हुनेछ। अर्जेन्टिनाले टिममा परिवर्तन गर्दै खेल्ने शैली परिवर्तन गर्न जरुरी देखिएको छ।
सम्भावित टिम
अर्जेन्टिना
फ्रान्को अर्मानी, इडुएर्डो साल्भियो, गाब्रियल मेर्काडो, निकोलास ओटामेन्डी, निकोलास टाग्लिएफिको, इभर बनेगा, जाभियर मास्चिरानो, इन्जो पेरेज, एन्जेल डि मारिया, लिओनल मेसी, गोन्जलो हिग्युइन
नाइजेरिया
फ्रान्सिस उजोहो, केनेथ ओमेर्ओ, विलियम इकोङ, लियन बालोगन, ट्रारोन इबुइही, विल्फ्रेड एनडिडी, जोन ओबी मिकेल, ओघेननेकारो इटेबो, भिक्टर मोसेस, केलेची इहेनएनाचो, अहमेद मुसा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।