काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा उरुग्वे समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। सोमबार भएको समूह 'ए' को खेलमा आयोजक रसियालाई ३-० गोलले पराजित गर्दै उरुग्वे समूह विजेता बनेको हो।
उरुग्वेले लगातार ३ खेल जित्दा रसियाले २ जित र १ हार बेहोर्यो। उरुग्वे विश्वकपमा अन्तिम १६ मा पुगेको यो लगातार तेस्रो पटक हो। यस्तै उरुग्वेले विश्वकपका समूह चरणमा तीनै खेल जितेको यो पहिलो पटक हो।
उरुग्वेका लागि लुईस सुआरेजले दशौं मिनेटमा फ्रिकिकमा गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाए। २३ मिनेटमा रसियाका चेरिसेभको खुट्टामा बल लाग्दै रसियाको पोस्टमा बल छिर्दा उरुग्वेको अग्रता दोब्बर भयो। ३६ मिनेटमा रसिया १० खेलाडीमा सीमित बन्यो। स्मोलनिभो दोस्रो पहेँलो कार्ड पाउदै मैदान छाड्न बाध्य भए। उनले २७ मिनेटमा पनि पहेँलो कार्ड पाएका थिए।
१० खेलाडीमा सीमित भएपछि रसिया दबाबमा आयो। अन्तिम मिनेटमा इडिन्सन काभानीले उरुग्वेका लागि तेस्रो गोल गरे। त्यसअघि उनी दुई अवसरमा चुकेका थिए।
अब अन्तिम १६ मा उरुग्वेले समूह बीको उपविजेता तथा रसियाले विजेतासँग खेल्नेछ। समूह बीका स्पेन, पोर्चुगल र इरान मध्ये २ टिम विजेता र उपविजेता बन्नेछन्।
खेल विवरण





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।