समूह 'बी'
पोर्चुगल भर्सेस इरान
समय– असार ११ गते, राति ११:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह 'बी' को निर्णायक खेलमा पोर्चुगल र इरानबीच आज राति प्रतिस्पर्धा हुनेछ। समूहमा स्पेन दोस्रो चरणमा सहज अवस्थामा रहे पनि पोर्चुगल र इरानका लागि 'गर वा मर'को स्थिति छ।
खेलमा जित हात पार्ने टिम अन्तिम १६ मा पुग्नेछ। हार बेहोरेको अवस्थामा इरान बाहिनेछ। तर, पोर्चुगलले हारे पनि अन्तिम १६ पुग्ने सम्भावना हुनेछ, जसका लागि यही समयमा हुने अर्को खेलमा स्पेन पराजित हुनुपर्नेछ। बराबरी भएमा पनि दुवै टिमको सम्भावना हुनेछ। बराबरी खेले पोर्चुगल सीधै अन्तिम १६ मा पुग्नेछ। तर, इरानले बराबरी खेले पनि उसले अन्तिम १६ मा स्थान बनाउन स्पेन पराजित हुनुपर्नेछ।
यो समीकरणमा पोर्चुगल फाइदामा छ भने इरान दबावमा छ। स्पेनको नतिजामा भर नपर्नुपर्ने अवस्थामा पोर्चुगललाई जित र बाराबरीमध्ये एक नतिजा काफी छ। स्पेनको नतिजामा भर नपर्दा इरानका लागि भने जितको विकल्प छैन।
इरानले पहिलो २ खेलमा विपक्षीलाई आफू सशक्त टिम भएको सन्देश दिइसकेको छ। इरानको विशेषत: रक्षापंक्ति अब्बल छ। मोरक्कोसँग गोल नखाएको इरानले स्पेन विरुद्ध आफ्नै गल्तीले गोल खाएको थियो। उसले स्पेनको पोस्टमा पटकपटक धावा बोलेको थियो।
पोर्चुगलले इरान विरुद्ध ३ अंकका लागि खेल्नेछ। अझ कप्तान क्रिस्टियानो रोनाल्डो फर्ममा रहेकाले पोर्चुगलले जितको विकल्प सोच्न सक्दैन। स्पेन विरुद्ध ह्याट्रिक तथा मोरक्को विरुद्ध निर्णायक गोल गरेर रोनाल्डोले महत्त्वपूर्ण ४ अंक दिलाएका थिए। अब पोर्चुगलले इरान विरुद्ध पनि महत्त्वपूर्ण अंक लिन रोनाल्डोकै भर परेको छ।
इरान र पोर्चुगलबीच विश्वकपमा अहिलेसम्म एक पटक प्रतिस्पर्धा भएको छ। सन् २००६ को विश्वकपको समूह चरणको खेलमा पोर्चुगलले इरानलाई २ – ० गोलले हराएको थियो। पोर्चुगलका लागि दोस्रो गोल रोनाल्डोले गरेका थिए।
सम्भावित टिम:
पोर्चुगल- रुइ प्याट्रिसिओ, राफायल गुइरेइरो, जोस फोन्टे, पेपे, सेड्रिक, जोएओ माउटिन्हो, विलियम, बेर्नान्डो सिल्भा, क्रिस्टियानो रोनाल्डो, आन्द्रे सिल्भा।
इरान- अलि बेइरान्भाड, रोमिन रेजाइयन, मोर्टेजा पोउलारिगान्जी, पेज्मान मोन्टाजेरी, मासाउद शोजेइ, सइद इजटोलाही, इशान हाजी साफी, ओमिड अब्राहिमी, भाहिद अमिरी, सरदार अज्मोउन, अलिरेजा जाहान्बोख्स।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।