काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा इंग्ल्यान्डका कप्तान ह्यारी केनले कीर्तिमानी ह्याट्रिक गरेका छन्।
समूह 'जी' को खेलमा केनले पहिलो हाफमै २ गोल गरेका थिए। खेलमा केनले २२ र पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीमार्फत गोल गरेका थिए। यस्तै उनले ६२ मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे।
योसँगै केन जारी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा उक्लिएका छन्। उनले २ खेलमा पाँच गोल गरेका हुन्। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र बेल्जियमका फरवार्ड रोमेलु लुकाकुले ४–४ गोल गरेका छन्।

केन विश्वकपमा ह्याट्रिक गर्ने तेस्रा इंग्लिस खेलाडी बने। इंग्ल्यान्डले विश्वकपमा ३२ वर्षपछि ह्याट्रिक गरेका हो। यसअघि इंल्यान्डका लागि विश्वकपमा जिओफ हस्ट्ले सन् १९६६ मा जर्मनी विरुद्ध र ग्यारी लिनेकरले सन् १९८६ मा पोल्यान्ड विरुद्ध ह्याट्रिक गरेका थिए।
यस्तै केन विश्वकपका सुरुवाती दुई खेलमा ह्याट्रिकसहित पाँच गोल गर्ने पहिलो खेलाडीबने। यसअघि पोल्यान्डका जर्जजोस लटोले १९७४ मा सुरुवाती २ खेलमा ४ गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।