काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा १० खेलाडीमा सीमित जर्मनीले स्विडेनमाथि २-१ को रोमाञ्चक जित हात पारेको छ।
समूह 'एफ' को खेलमा जर्मनीको जितमा टोनी क्रुसले निर्णायक गोल गरे। उनले दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा उत्कृष्ट गोल गर्दा जर्मनीले रोमाञ्चक जित हात पर्न सफल भयो।
त्यसअघि ३२ मिनेटमा स्विडेनका टोइभोनेनले गोल गरेर स्विडेनलाई अग्रता दिलाए। तर ४८ मिनेटमा जर्मनीका मार्को रेउसले बराबरी गोल फर्काउन सफल भए।
८२ मिनेटमा जर्मनी १० खेलाडीमा सीमित बन्यो। डिफेन्डर बोएटिङ दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए। त्यसअघि उनले ७१ मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए। त्यसपछि दबाबमा आएको जर्मनीले निरन्तर विपक्षी पोस्ट आक्रमण गर्दा अन्तिम मिनेटमा गोल गरेर जित हात पारेको हो।
पहिलो खेलमा मेक्सिकोसँग पराजित भएको जर्मनीले स्विडेनलाई हराएर अन्तिम १६ मा पुग्ने आसा बाँकी नै राखेको हो। समूहमा मेक्सिकोको ६ अंक छ भने जर्मनी र स्विडेनको ३-३ अंक भएको छ। दक्षिण कोरियाको शून्य अंक छ। अब अन्तिम चरणमा जर्मनी र कोरिया तथा मेक्सिको र स्विडेनबीच खेल हुनेछ। अन्तिम १६ मा पुग्न जर्मनी र स्विडेनलाई जितको आवश्यकता छ। मेक्सिकोलाई बराबरी काफी छ। कोरियालाई जर्मनी र स्विडेन हार्दा आफुलाई २ गोल बढीको जितको आवश्यकता छ।
खेल विवरण




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।