समूह 'एफ'
जर्मनी भर्सेस स्विडेन
समय : असार ९ गते, राति ११:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह 'एफ'को खेलमा जर्मनी र स्विडेनबीच प्रतिस्पर्धा हुँदैछ। डिफेन्डिङ च्याम्पियन जर्मनी पहिलो खेलमै मेक्सिकोसँग पराजित भएपछि पीडामा छ। त्यसैले जर्मनी बाँकी दुवै खेल जितेर उत्कृष्ट पुनरागमन गर्न चाहन्छ। अर्कोतर्फ, जर्मनी खराब इतिहास बनाउन चाहँदैन। जर्मनी सन् १९३८ को विश्वकपपछि समूह चरणबाट बाहिरिएको छैन।
यता १२ वर्षपछि विश्वकपमा स्विडेनले पहिलो खेलमा दक्षिण कोरियालाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो। स्विडेनले ६० वर्षपछि विश्वकपको पहिलो खेलमा जित हात पारेको हो। सन् १९५८ को विश्वकपपछि स्विडेनले विश्वकपको पहिलो खेलमा जित हात पारेको थिएन। शनिबार जर्मनीलाई पराजित गर्न सके स्विडेन दोस्रो चरणमा पुग्नेछ।
स्विडेनका डिफेन्डर भिक्टर लिन्डेलोपले जर्मनी विरुद्धको खेल खेल्ने विश्वास गरिएको छ। उनी कोरिया विरुद्धको खेलमा बिरामी परेकाले टिममा थिएनन्। उनले पोन्टुस जानसनको स्थानमा खेल्न सक्नेछन्।
यता जर्मनीले मार्को रेउसलाई पहिलो रोजाइमा खेलाउने मानिएको छ। उनी मेक्सिको विरुद्धको खेलमा पहिलो रोजाइमा थिएनन्।
जर्मनीले स्विडेनसँग खेलेका एउटा खेल पनि गुमाएको छैन। अहिलेसम्म ११ खेल हुँदा जर्मनीले ६ खेल जितेको छ भने ५ खेल बराबरीमा सकिएको छ।
जर्मनी र स्विडेनबीच सन् २०१२ मा भएको विश्वकप छनोटका दुई खेलमा १६ गोल भएको थियो। पहिलो लेग ४–४ गोलको बराबरीमा सकिँदा दोस्रो खेल जर्मनीले ५–३ गोलले जितेको थियो।
यस्तै, जर्मनीले स्विडेनसँग विश्वकपमा खेलेका कुनै पनि खेल हारेको छैन।
खेलअघि जर्मनीका फरवार्ड थोमस मुलरले खेल जित्नुको विकल्प नरहेको बताएका छन्। उनले स्विडेन विरुद्धको खेल दबावपूर्ण भए पनि जितका लागि खेल्ने बताए। प्रशिक्षक जोचिम लोले पनि पहिलो खेलमा बेहोरेको हारले दु:खी भए पनि जर्मन खेलमा फर्कन सक्ने टिम भएको बताए।
स्विडेनका विंगर इमिल फोर्सवर्गले जर्मनी कठिन टिम भएको बताए। उनले विश्वकप च्याम्पियनसँग खेल्दा स्विडेनलाई कम दबाव हुने बताए।
सम्भावित टिम-
जर्मनी:
म्यानुयल नेउर, जोसाउ किम्मिच, जेरोम बेएटिङ, मार्टस् हुमेल्स, जोनास हेक्टर, सामी खेडिरा, टोनी क्रुस, थोमस मुलर, मेसुट ओजिल, मार्को रेउस, टिमो वेर्नर।
स्विडेन:
ओल्सेन, लुस्टिङ, ग्रानक्भिस्ट, लिन्डेलोफ, अगस्टिसन, क्लासन, लार्सन, एकडन, फोर्बेर्ग, बेर्ग, टोभोनेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।