काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा स्विट्जरल्यान्डले सर्वियामाथि २-१ को रोमाञ्चक जित हात पारेको छ।
समूह 'ई' को खेलमा स्विट्जरल्यान्डलाई जित दिलाउन साकिरीले निर्णायक गोल गरेका थिए। उनले खेलको अन्तिम मिनेटमा गोल गरेपछि स्विट्जरल्यान्डले महत्वपूर्ण ३ अंक बटुलेको हो।
त्यसअघि मिट्रोभिकले पाँचौ मिनेटमा गोल गरेर सर्वियालाई अग्रता दिलाएका थिए। तर ५२ मिनेटमा स्विट्जरल्यान्डका लागि ग्रानिट जाकाले बराबरी गोल फर्काए।
योसँगै समूह 'ई' बाट ३ टिमको अन्तिम १६ मा पुग्ने सम्भावना भएको छ। शीर्ष स्थानको ब्राजिल र दोस्रो स्थानको स्विट्जरल्यान्डको समान ४-४ अंक छ। तेस्रो स्थानको सर्वियाको ३ अंक छ। यता लगातार २ खेलमा पराजित भएको कोस्टारिका बाहिरिएको छ। अब अन्तिम चरणमा ब्राजिल र सर्विया तथा स्विट्जरल्यान्ड र कोस्टारिकाबीच खेल हुनेछ। अन्तिम १६ मा पुग्न ब्राजिल र स्विट्जरल्यान्ड बराबरी भए पुग्छ भने सर्वियालाई जितको खाँचो छ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।