काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा बिहीबार मध्यरात अर्जेन्टिनाको महत्वपूर्ण खेल थियो। क्रोएसिया विरुद्धको खेललाई अर्जेन्टिनाका ४ करोड ४० लाख जनताले मात्र होइन विश्वभरका अर्जेन्टाइन फ्यानले कुरिरहेका थिए। खेलमा सबैको आशा र विश्वासका केन्द्रबिन्दु थिए कप्तान लिओनल मेसी।
तर खेलमा अर्जेन्टिनाले ३–० गोलको लज्जास्पद पराजय बेहोर्नुपर्यो। जसले गर्दा समूह 'डी' बाट अन्तिम १६ मा पुग्ने अर्जेन्टिनाको सम्भावना आफ्नो हातबाट गुमेको छ। अन्तिम १६ मा पुग्ने झिनो आशा अन्य टिमको नतिजामा भर पर्नुपर्ने भएको छ। जसले मेसी तथा अर्जेन्टिनाका फ्यानलाई दुखित बनाएको छ।
आखिर मेसी किन असफल भए? खेलमा किन मिल्न सकेन तालमेल?
मिडियामा आएका रिपोर्टका अनुसार आइसल्यान्ड विरुद्धको खेलपछि मेसी सन्तुष्ट थिएनन्। उनले टिमका लागि आयोजना गरेको 'बार्बिक्यू' मा रमाउन अस्विकार गरेका थिए। उनी एक्लै होटलमा बसेका थिए।
मेसीले क्रोएसिया विरुद्धको प्रिम्याच पत्रकार सम्मेलनमा प्रत्येक खेलाडीलाई राम्रो खेल्नुपर्ने बताएका थिए। तर अर्जेन्टिनाले क्रोएसियाबिरुद्ध पहिलो गोल आफ्नै गल्तीले खाएको थियो। गोलकिपर काबालेरोको असावधानीका कारण पहिलो गोल खाएको अर्जेन्टिनाले अन्तत: विश्वकपमा सन् १९५८ पछिकै ठूलो हार बेहोर्यो।
मेसीका बार्सिलोनाका पूर्व सहकार्मी सेस फाब्रिगासले बिबिसीलाई दिएको अन्तर्वार्तामा अर्जेन्टाइन टिम छिन्नभिन्न भएको जस्तो देखिएको बताएका छन्। उनले अर्जेन्टाइन टिमको टिम स्पिरिटबारे पनि प्रश्न उठाएका छन्। उनले भनेका छन्, 'अर्जेन्टिना आफैविरुद्ध खेलेको जस्तो देखिन्थ्यो। प्रतिद्वन्द्वीविरुद्ध प्रतिस्पर्धा गरेको जस्तो देखिएनन्?'
उनले खेलमा मेसीको कुनै गल्ती नभएको पनि बताए। 'मेसीलाई साँच्चै गाह्रो थियो। उनलाई पछाडिबाट सहयोग गर्ने कोही देखिएनन्, ' उनले भने, 'मेसी कोही त्यस्ता खेलाडी चाहन्थे जसले उनलाई खेल्न सहज बनाइदिओस्। उत्कृष्ट खेलाडीलाई बल उपलब्ध गराउन सधैं चतुर र प्रतिशाभाली खेलाडी चाहिन्छ।'

यता अर्जेन्टिनाका पूर्वरक्षक पाब्लो जाबलेटाले अर्जेन्टिनाले तीव्र गतिमा खेल्न नसकेको बताए। 'फाइनल थर्ड' मा समेत मेसी एक्लिएको उनको भनाइ छ।
'मैले अर्जेन्टिनाले यस्तो खेल्छ भनेर कल्पना गरेको थिइनँ। टिम निकै कमजोर देखियो, ' जाबलेटाले भने।
यस्तै इंग्ल्यान्डका पूर्व कप्तान एलन सेरर अर्जेन्टिनाले कुनै पनि खेल योजना बनाउन नसकेको बताए।
क्रोएसिया विरुद्धको खेल अवधिभर मेसीले ४९ पटक बल छोएका थिए। जसमा उनले २ पटक मात्र विपक्षीको डिबक्समा बल खेलाउने मौका पाए। मेसीले पहिलो प्रहार ६४औं मिनेटमा गरेका थिए।

पहिलो दुई खेलमा असफल भएपछि अर्जेन्टिनाका प्रशिक्षक जोर्गे साम्पाओलीको रणनीतिलाई लिएर प्रश्न उठेको छ। दुवै खेलमा उनले युवा फरवार्ड पाब्लो डिबालालाई पहिलो रोजाइमा मौका दिएनन्। डिबालाले गत सिजन इटालियन क्लब युभेन्ट्सका लागि २२ गोल गरेका थिए।
इंग्ल्यान्डका पूर्व विंगर क्रिस वाड्ले पाब्लो डिबाला र मेसीको जोडीले अर्जेन्टिनाका लागि राम्रो खेल्न सक्ने बताउँछन्। मेसीले सबै कौशल प्रयोग गर्न खोजेको तर तालमेल नमिल्दा मेसी निराश देखिएको उनले बताए।
अर्जेन्टिनाका लागि १ सय २६ अन्तर्राष्ट्रिय खेलमा मेसीले ६४ अन्तर्राष्ट्रिय गोल गरेका छन्। स्पेनिस क्लब बार्सिलोनाका लागि दर्जनौं उपाधि दिलाइसकेका मेसीले देशका लागि भने कुनै पनि उपाधि जित्न सकेका छैनन्।
सन् २०१४ को विश्वकपमा उपविजेतामा सीमित बनेको अर्जेन्टिना सन् २०१५ मा दक्षिण अमेरिकाको ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिकाको फाइनलमा पनि पराजित भयो।
सन् २०१६ मा 'स्पेशल कोपा अमेरिका फुटबल प्रतियोगिता' मा फाइनलमा पनि चिलीले अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गरेको थियो। अर्जेन्टिनाको तर्फबाट सुरुवातमा पेनाल्टी प्रहार गर्न आएका मेसीले गोल गर्न सकेनन्। त्यसपछि अन्तर्राष्ट्रिय फुटबलबाट उनले संन्यास लिने घोषणा गरे।
सबै फ्यानको आग्रहपछि मेसीले २ महिनामा संन्यास फिर्ता लिएर अर्जेन्टिनालाई विश्वकपमा छनोट गराउन उत्कृष्ट प्रदर्शन गरेका थिए।
रसियामा समेत मेसी असफल हुँदा उनले पुन: संन्यास घोषणा गर्न सक्ने जाबलेटाले बताए। उनले भने, 'देशका लागि उपाधि जित्ने मेसीलाई अन्तिम अवसर थियो। तर त्यो पूरा नहुने देखिएको छ। उनले यो विश्वकपपछि संन्यास घोषणा गरे कुनै नौलो हुनेछैन।' विभिन्न एजेन्सीको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।