काठमाडौं– २०१८ फिफा विश्वकपमा अस्ट्रेलिया र डेनमार्कले १–१ गोलको बराबरी खेलका छन्। बिहीबार भएको 'सी' को खेलमा बराबरी भएसँगै अस्ट्रेलियाको दोस्रो चरणमा पुग्ने आशा बाँकी रहेको छ।
समूहमा डेनमार्कको ४ र अस्ट्रेलियाको १ अंक भएको छ। अब अस्ट्रेलियाले समूह चरणको अन्तिम खेलमा पेरुसँग खेल्नेछ। पेरुलाई पराजित गरे अस्ट्रेलियाको दोस्रो चरण पुग्ने सम्भावना हुनेछ। फ्रान्ससँग खेल्ने डेनमार्कका लागि दोस्रो चरणमा पुग्न बराबरी काफी छ।
खेलको सातौं मिनेटमा डेनमार्कले अग्रता लिएको थियो। क्रिस्टियन एरिन्सनले भलि सार्टमार्फत उत्कृष्ट गोल गरेका थिए।
३८ मिनेटमा अस्ट्रेलियाले बराबरी गोल फर्कायो। डेनमार्कका खेलाडीले डिबक्स भित्र ह्यान्ड गरेको भन्दै अस्ट्रेलियाले पेनाल्टी अपिल गरेको थियो। त्यसपछि भएको भिएआर रिभ्यूमा अस्ट्रेलियाले पेनाल्टी पायो। पेनाल्टीमा अस्ट्रेलियाका जेडिनाकले गोल गरे।
दोस्रो हाफमा अस्ट्रेलिया खेलमा हाबी बनेको थियो। म्याथ्यु लेकी तथा एन्ड्रियु नाबोटले राम्रो अवसर पाएपनि सदुपयोग गर्न सकेनन्।
यो समूहको अर्को खेलमा अाज राति फ्रान्स र पेरुबीच प्रतिस्पर्धा हुनेछ। जित हात पारे फ्रान्स दोस्रो चरणमा पुग्नेछ। पेरुलाई दोस्रो चरणमा पुग्ने आसा कायम राख्न फ्रान्सलाई हराउनु पर्ने दबाव छ।
खेल विवरण





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।