काठमाडौं- पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा लकिङ प्रणाली लागू गर्ने नेपाल आयल निगमको प्रयासलाई निहुँ बनाएर इन्धन ढुवानी ठप्प पारेका पोखराका ट्यांकर चालक अन्ततः पछि हटेका छन् । निगमले असारभित्र सबै ट्यांकरमा लकिङ प्रणाली लागू गर्ने समयसीमा दिएपछि त्यसलाई निहुँ बनाएर ती चालकहरूले सोमबार इन्धन ढुवानी ठप्प पारेका थिए।
नेपाल आयल निगम पोखरा डिपोका प्रमुख नवविनोद पोखरेलका अनुसार मंगलबार बिहानै आन्दोलनरत ती चालकले आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति गरेका छन्।
निगम र आन्दोलनरत पक्षको सहमतिपछि मंगलबारदेखि पोखरा क्षेत्रमा इन्धन ढुवानी सुचारु भएको छ।
आन्दोलनरत ती चालकले लकिङ प्रणालीको विरोध गर्न तलब/भत्ताको विषयलाई अघि सारेर विरोध गर्दै आएका थिए। उनीहरूले केही दिनयता विभिन्न बहानामा इन्धनको सहज आपूर्तिमा अवरोध गर्दै आएका थिए। आफ्ना माग पूरा नभएसम्म हडताल जारी राख्ने चेतावनी पनि उनीहरूले दिएका थिए।
अत्यावश्यक वस्तुमा हडताल गर्न नपाइने कानुनी व्यवस्था तथा निगमको पेट्रोलियम पदार्थ ढुवानी नियमावलीलाई टेकेर कारबाही गर्ने चेतावनी दिएपछि आन्दोलनरत चालक पछि हटेका हुन्। अत्यावश्यक सेवा सञ्चालन ऐन– २०१४ र अत्यावश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन– २०१७ मा पेट्रोलियम लगायतका अत्यावश्यक वस्तुको आपूर्तिमा अवरोध, बन्द हडताल गर्न नपाइने व्यवस्था छ।
निगम पोखरा डिपोप्रमुख पोखरेलका अनुसार चालक पक्षले राखेको तलब भत्ताको विषयमा पनि द्विपक्षीय सहमति जुटेको छ। ‘आजैदेखि रक्सौलमा इन्धन ढुवानी गर्न जाने प्रतिबद्धता चालकबाट आएपछि बजारका पम्पहरूबाट इन्धन वितरण सहज भएको छ।’
डिपो प्रमुख पोखरेलका अनुसार अहिले पोखरा क्षेत्रका ३/४ वटाबाहेक सबै ट्यांकरमा लकिङ प्रणाली जडान गरिसकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।