हेटौंडा- नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आजदेखि हेटौंडामा शुरू हुँदैछ। तीन दिन चल्ने भेला हेटौंडाको पल्पसा क्याफेमा हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्। भेलाका लागि पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरु हेटौंडामा जम्मा भएका छन्।
जिल्ला सभापितहरुको राष्ट्रिय भेलाको बिहान साढे ११ बजे सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ।
भेला सुरु हुनुअघि बिहान ७ बजे रक्तदान कार्यक्रम छ। रक्तदान सकिएलगत्तै सीमा चोकदेखि कार्यक्रमस्थल पल्पसा हलसम्म नेता तथा कार्यकर्ताले पैदल यात्रा गर्नेछन्।
पहिलो दिनको उद्घाटन सत्रमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका सीमित नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ। भेलाको दोस्रो दिन जिल्ला सभापतिहरूले आफ्ना धारणा राख्नेछन् भने समापनको दिन ७ प्रदेशका ७ समूहबाट आएका सुझाव एकत्रित गरिने बताइएको छ।
कांग्रेसमा जिल्ला सभापतिहरुको भेलालाई मिनी महासमितिका रूपमा लिने गरिएको छ।
केन्द्रीय सदस्यहरूले जिल्ला सभापतिहरुको धारणा सुन्न पाउनेछन् तर उनीहरूले भेलामा बोल्न भने पाउने छैनन्।
मूलतः विधान संशोधनका लागि बोलाइएको भेलामा जिल्ला सभापतिहरूले पार्टीको पराजय, गुट, उपगुट, टिकट वितरण, विधान विपरीतका कार्य, प्रतिपक्ष दलको कमजोर भूमिका र सरकारका गलत कदमका विषयमा धारणा राख्ने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।