काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबान जस्ता विपद् व्यवस्थापनका लागि तयारी हालतमा रहन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओलीले सोमबार सिंहदरबारमा विपद् व्यवस्थापन समितिको बैठक बोलाई बाढी, पहिरो र डुबान जस्ता आइपर्न सक्ने विपत्तिको सामना गर्न तयारी हालतमा बस्न सम्बन्धित निकायलाई सचेत गराएका हुन्। सो अवसरमा प्रधानमन्त्री ओलीले विपद्पछि आइपर्ने चुनौतीको सामना गर्नेगरी आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालय र सुरक्षा निकायका प्रमुखहरुको पनि गम्भीर ध्यानाकर्षण गराए।
प्राकृतिक विपत्तिको सामना गर्न सुरक्षा निकाय, प्रदेश र स्थानीय सरकारलाई पनि प्रधानमन्त्री ओलीले निर्देशन दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
प्रदेश सरकारका प्रतिनिधिहरु समेत सहभागी रहेको बैठकमा प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापालाई विपद् व्यवस्थापनका लागि नीतिगत निर्णय लिन आवश्यक भए ढिलाइ नगर्न पनि निर्देशन दिएका थिए।
हरेक वर्षाद्मा देशका विभिन्न भागमा बाढी र डुबानका कारण धनजनको क्षति हुनेगरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।