चितवन- चितवनको नारायणगढ-मुग्लिन सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभरटेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान सुरु गरेको छ।
तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेको भन्दै गति मापन गर्ने ‘राडार गन’ कै प्रयोग गरेर कारबाही अभियान थालिएको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए।
उनका अनुसार, आइतबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको नेतृत्वमा गएको टोलीले स्थलगत अनुगमन समेत गरेको थियो। सो क्रममा तीव्र गतिमा सवारी चलाउने, मापसे गरेर चलाउने र ओभरटेक गर्ने ३५ जना चालकलाई नियन्त्रणमा लिइएको थियो।
प्रहरी उपरीक्षक राठोरका अनुसार ठाउँठाउँमा चेकजाँच गर्ने, सम्झाउने काममा प्रहरीलाई आइतबारदेखि नै खटाइएको छ। उक्त सडकमा अहिले सबै क्षेत्रमा बार बनिनसकेको, पुल समेत जीर्ण रहेको र माथिबाट पहिरो खस्ने हुँदा जोखिम कायमै छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार, नारायणगढ-मुग्लिन सडकखण्डमा ‘टाइम कार्ड’ नै उपलब्ध गराएर गाडी पास गराउने तयारी गरिएको छ। यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रहरीको भनाइ छ।
नारायणगढ-मुग्लिन सडकको ३६ किलोमिटर क्षेत्रमा अहिले सडक चौडा बनाई कालोपत्रे गर्ने काम सकिएपछि सवारी तीव्र गतिमा हिँड्ने गरेका छन्।
तीव्र गतिकै कारण आइतबार एउटा मोटरसाइकल पुलको रेलिङमा ठोक्किँदा दुई जनाको मृत्यु भएको थियो। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।