काठमाडौं– कोरोना महामारी सुरुवात हुनुअघि नेपाल दर्शकको ‘टेस्ट’ बिगारेको र ‘नेपाली सिनेमाका दर्शक खोस्ने’ भन्दै हास्यकलाकार दीपकराज गिरी हिन्दी फिल्मको विरोधमा उत्रिएका थिए। ‘छक्का पञ्जा’ श्रृङ्खलासँगै ‘वडा नम्बर छ’, ‘छ एक्कान छ’ जस्ता फिल्महरुमार्फत् नाम र दाम दुवै कमाएका उनले नेपाली फिल्मको बजारलाई हिन्दी सिनेमाले लुटिरहेको किसिमका अभिव्यक्ति पटक पटक दिए।
महामारी केही नियन्त्रणमा आएसँगै पछिल्लोपटक हल सञ्चालनको अनुमति पाएर पनि नेपाली निर्माताले आफ्ना फिल्म सञ्चालन नगर्दा पनि हिन्दी फिल्मप्रति दीपकको रिस घटेको थिएन। उनले ‘नेपाली हल चलाउन हिन्दी फिल्म नै चाहिने?’ भन्दै नेपाली निर्देशकलाई आफ्नो फिल्म प्रदर्शन गर्न झकझकाएका थिए।
पटक पटक हिन्दी फिल्मको विरोध र यसको प्रदर्शनमा नै रोक लगाउनुपर्छ भन्ने दीपक अहिले भने हिन्दी फिल्मकै पक्षमा उत्रिएका छन्। कोरोना महामारीपछि पहिलो पटक नेपाली हलसम्म दर्शकलाई तान्न सफल भएको बलिउड फिल्म ‘सूर्यवंशी’को साथमा दीपक देखिएका हुन्।
दीपकले अक्षय कुमार अभिनित ‘सूर्यवंशी’को प्रोमोसन गर्दै सामाजिक सञ्जालमा तस्बिर राखेका छन्। महिना दिन अघि मात्रै हिन्दी फिल्मप्रति व्यंग्य र विरोध गर्ने दीपक अहिले हिन्दी फिल्मलाई नै ‘सपोर्ट’ गर्नुपर्ने भन्दै उत्रिएका छन्। उनले फिल्मको पोस्टरसँगको तस्बिर राख्दै लेखेका छन्, ‘सूर्यवंशी समय। हल खचाखच छ। चलचित्र विदेशी हो, तर यो अवस्थामा दर्शक हलसम्म ल्याउने काम गरेकोले सबैले सपोर्ट गरौं।’
त्यसो त राम्रा नेपाली फिल्म प्रदर्शन हुन्थे भने दर्शकलाई तिनले पनि हलसम्म तान्थे। ‘डाँडाको वरपिपल’ र ‘धन्धागिरी’ हलमा दशैँको छेको पारेर प्रदर्शन गरिएपनि तिनले दर्शकलाई हलमा तानेनन्।
हलमा दर्शक तान्न र नेपाली सिने क्षेत्रलाई फेरि सक्रिय रुपमा लैजान हिन्दी सिनेमा नै आवश्यक परेको देख्दा दीपकले यसअघि गर्ने विरोधको कुनै तुक नरहेको प्रष्ट हुन्छ।
हेरौं, फेरि आफ्नो फिल्म प्रदर्शनको बेला हिन्दी फिल्मप्रति दीपकले देखाउने यो दुई रुप देखिन्छ कि देखिँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।