काठमाडौं– विषयगत छलफलमा मन्त्री उपस्थित नहुँदा प्रतिनिधिसभाको बैठक १५ मिनेट स्थगित हुँदै फेरि सुरु भएको छ।
संसद् चल्न सरकारका प्रतिनिधिको उपस्थिति अनिवार्य हुनुपर्ने भए पनि कुनै पनि मन्त्री उपस्थित नभएको भन्दै कांग्रेस सांसद अमरेशकुमार सिंहले नियमापत्ति गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।
प्रतिनिधिसभा सदस्य नियमावलीको दफा ६ (५) ले संसद् सञ्चालनका लागि मन्त्रीको उपस्थिति अनिवार्य र मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्री अनिवार्य उपस्थिति हुनुपर्ने व्यवस्था गरेको छ।
आइतबार प्रतिनिधिसभामा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका लागि विनियोजन गरिएको बजेटमाथि छलफल भइरहेको छ।
उक्त छलफलको समयमा मन्त्रीहरु मन्त्रिपरिषदको बैठकमा हुँदा संसद् स्थगित भएको हो। मन्त्रीहरु मन्त्रिपरिषद् बैठक सकेर संसद् भवन पुगेपछि छलफल अगाडि बढेको छ।
आगामी दिनमा यस्तो नदोहोरियोस् : सभामुख
सरकारका मन्त्रीहरु आफ्नो मन्त्रालयको छलफलमा उपस्थित नभएपछि सभामुख कृष्णबहादुर महराले सरकारलाई आगामी दिनमा अनिवार्य रुपमा उपस्थित हुन निर्देशन दिएका छन्।
'विनियोजनमाथिको छलफलमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरुको उपस्थित होस् भनी विशेष ध्यानाकर्षण गराउँछु’, सभामुख महराले भने, 'आगामी दिनमा यस्तो नदोहोरियोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।