काठमाडौं– भैरहवा, पोखरा र निजगढमा निमार्णाधीन अन्तर्राष्ट्रिय विमानस्थलहरुमा बढी उचाइमा उडान भर्ने विमानका लागि प्रवेश मार्ग उपलब्ध गराउन भारत सहमत भएको छ। जसका लागि उसले आगामी सेप्टेम्बरसम्म विस्तृत प्राविधिक मूल्यांकन कार्य सम्पन्न गर्ने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणबीच शनिबार यस्तो सहमति भएको हो।
यसअघि नेपाल सरकार र भारतबीच सन् २०१६ को डिसेम्बर २०–२१ मा सम्पन्न हवाई प्रवेश बिन्दुका सम्बन्धमा दुवै मुलुकका सम्बद्ध निकायबीच प्राविधक तहमा वर्ता गरी टुंग्याउन सहमत भएका थिए।
शनिबार बसेको संयुक्त बैठकले नेपालले पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेश बिन्दुका लागि काठमाडौंदेखि विराटनगर र काठमाडौंदेखि जनकपुरबीचको हवाई रुटलाई द्वितर्फी बनाउने र दुवै पक्ष बसी सोको उडान सुराा मूल्यांकनको आधारमा उक्त रुटहरुबाट वायुयान नेपाल प्रवेश गर्नसक्ने सहमति भएको छ।
पश्चिमतर्फ महेन्द्रनगर हुँदै कम उचाइमा उडान गर्ने वायुयानका लागि मौजुदा काठमाडौं–महेन्द्रनगर–दिल्ली हवाई रुटको सुरक्षा मूल्यांकन गरी सोको अधारमा लागु गर्ने बताइएको छ।
पूर्वतर्फ पनि काठमाडौं–जनकपर–पटना बीचको एकतर्फी रुटलाई दुईतर्फी बनाउन सुरक्षा मूल्यांकन गरी सोको आधारमा नै लागु गर्ने निर्णय भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
यसबाट नेपाल र भारतबीच हुने सीमापार उडानहरुलाई सहयोग पुग्ने प्राधिकरणले विश्वास लिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।