काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयले पार्टी एकतालाई सुदृढ बनाउँदै सरकारलाई सफल बनाउने दिशामा एकताबद्ध भएर अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको नेकपाको पहिलो स्थायी समिति बैठकमा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सिंगो पार्टी पंक्तिलाई सुदृढ र एकताबद्ध बनाउँदै सरकारको कामलाई प्रभावकारी र परिणाममुखी बनाउने दिशामा अगाडि बढ्न निर्देशन दिएको हो। पार्टी एकतापछिको अहिलेसम्मको सांगठनिक एकीकरण, राजनीतिक परिस्थिति र सरकारको कामबारे बैठकमा समीक्षा गरिएको छ।
पार्टी एकीकरण अद्वितीय र असाधारण तथा विशिष्ट रहेको भन्दै सांगठनिक संरचनालाई मजबुत बनाउँदै सरकारको कामलाई प्रभावकारी र परिणाममुखी बनाउन मद्दत पुर्याउने निर्णय पनि बैठकले गरेको छ।
पार्टीको नियमावलीबारे १० दिनभित्र सबै स्थायी समिति सदस्यबाट सुझाव लिई सोही आधारमा सचिवालय बैठकले नियमावलीलाई स्थायी समितिमा पेस गर्ने निर्णय पनि बैठकमा भएको छ।
त्यसैगरी स्थानीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र स्थायी समिति सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे बैठकलाई जानकारी गराउँदै भ्रमण ऐतिहासिक रुपले सफल हुने विश्वास व्यक्त गरेका थिए। बैठकमा महासचिवले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।