काठमााडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटका बारेमा जथाभावी अभिव्यक्ति नदिन सांसदहरुलाई निर्देशन दिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का संसदीय दलका नेता प्रधानमन्त्री ओलीले संघीय संसदको मर्यादा, सत्तापक्ष र प्रतिपक्षी दलको मूल्य र मान्यतामा कायम रहँदै सरकारले ल्याएको बजेटको बचाउमा आफ्ना अभिव्यक्ति केन्द्रित गर्न आफ्ना सांसदलाई निर्देशन दिएका हुन्। आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट माथि संघीय संसदमा सत्तारुढ दलकै सांसदहरुले सरकारका मन्त्रीहरुको चर्को आलोचना गरेपछि (ने क पा) ले त्यसबारे छलफल गर्न शनिबार बिहान संसदीय दलको बैठक बोलाएको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकको सुरुमै बोल्दै दलका नेता ओलीले विद्यमान परिस्थितिलाई ध्यानमा राखेर संयमित अभिव्यक्ति दिन सांसदहरुलाई सचेत गराए। उनले बजेटमा समावेश गर्नुपर्ने योजना तथा भएका त्रुटिहरु भविष्यमा छलफल मार्फत सच्याउँदै र थप्दै लैजान सकिने आश्वासन सांसदहरुलाई दिएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए।
बैठकमा (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पश्चिम सेतीका बारेमा मिडियामा आएका विषय यथार्थ नरहेको भन्दै सांसदहरुलाई आश्वस्त तुल्याएका छन्।

बजेट विनियोजनमा विभागीय मन्त्री र ठूला नेता हावी भएको भन्दै संघीय संसदमा सरकार र सम्बन्धित मन्त्रीको चर्को आलोचनामा उत्रिएका सांसदहरुले दलको बैठकमा पनि त्यसबारे कुरा उठाएपछि प्रधानमन्त्रीले संयमित हुँदै विद्यमान परिस्थिती र संसदीय मूल्यमान्यता तथा सत्तारुढ र प्रतिपक्षी दलको मान्यता अनुसार अघि बढ्न निर्देशन दिएका थिए।
असार १ गतेका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका लागि विनियोजित बजेटमाथिको छलफलको संभावित कार्यक्रम सार्वजनिक गरिएपनि सत्तारुढ दलबाटै सरकार र सम्बन्धित मन्त्रीहरुको आलोचना बढी भएपछि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरेका थिए।
(ने क पा)ले शनिबार नै पदाधिकारी र स्थायी समितिको बैठक बोलाएको छ। स्थायी समितिको दिउँसो साढे २ बजे बस्नेछ भने त्यसअघि पदाधिकारी बैठक बस्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।