काठमाडौं– लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले परिवर्तित सन्दर्भमा आयोगलाई आमुल परिर्वतन गर्न नसकिएको स्वीकार गरेका छन्।
लोक सेवा आयोगको ६८औं वार्षिकोत्सवका अवसरमा शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष मैनालीले निष्पक्षता र स्वतन्त्रताको सवालमा इतिहास रच्न सफल आयोगले आफ्नो साख गुम्ने भयका कारण अग्रगामी पाइला चाल्न नसकेको बताए। उनले आमूल परिर्वतन गरि अगुवा संस्था हुन नसकेपनि समयको माग अनुसार रुपान्तरण गर्ने प्रयास भने भइरहेको दावी गरे।
तल्ला पदहरुमा केही हदसम्म प्रयोग गरिएको एकीकृत परीक्षालाई अब रापत्रांकित प्रथम श्रेणीमा विस्तार गरिएको उल्लेख गर्दे उनले परीक्षासम्बन्धी गोप्य काम गर्ने शाखा लगायतमा परीक्षाको प्राप्ताङ्क र क्रम दुवै थाहा नपाउने व्यवस्था गरिएको बताए।
उनले गलत भर्ना नीति र गलत भर्ना प्रक्रियाले प्रशासन संयन्त्रभित्र स्थायी खराबीहरु प्रवेश भएको भन्दै त्यसलाई ‘मकैमा ढुसी र काठमा धमिरा लागेको अवस्था’को संज्ञा दिए। उनले परिर्वतनलाई कुशल व्यवस्थापन गर्नसक्ने जनशक्ति प्रशाषन तहमा प्रवेश गराउनका लागि औसत मस्तिष्क नभई उत्कृष्ट मस्तिष्क भित्र्याउन सक्नुपर्ने जिकिर गरे।
उनले अनलाइन दरखास्त, मोबाइल एप्स लगायतका सेवा दिँदै आएको आयोगले आगामी साउनदेखि ‘अनलाइन पेमेन्ट’ पूर्णरुपमा लागु गर्ने बताए।
अध्यक्ष मैनालीले नेपालको संविधान बमोजिमको लोक सेवा आयोग ऐन जारी नहुँदा काम गर्न असजिलो भएको भन्दै आयोग सम्बन्धी विधेयक चाँडो संघीय संसदमा प्रस्तुत गर्न सरकारसँग माग गरे। आयोगले तीन वर्षीय रणनीतिक योजना आजैदेखि सार्वजनिक गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।