काठमाडौं– सरकारले अन्तर्राष्ट्रिय विकास संस्था ‘आइटी ए’बाट करिब १५ मिलियन अमेरिकी डलर बराबरको सहायता लिने भएको छ।
बिहीबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संघीय प्रदेश तथा स्थानीय तहमा रहेका सार्वजनिक वित्त तथा खरिद व्यवस्थापनमा सम्लग्न संस्थाहरुको प्रणाली तथा कार्यविधीलाई सरलीकरण र प्रभावकारी बनाउने उद्देश्यका लागि विश्व समुहको अन्तर्राष्ट्रिय विकास संस्था ‘आइटी ए’ बाट सो बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको हो। त्यसका लागि सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने निर्णयसमेत गरेको छ।
त्यस्तै जापान सरकारबाट ‘प्रोजेक्टर फर ह्युमन रिसोर्स डेभलपमेण्ट स्कलरसिप’ अन्तर्गत प्राप्त हुने २७ करोड ५५ लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्नेसमेत निर्णय गरेको छ।
सरकारले नेपालको तर्फबाट एसियाली विकास बैंकको वैकल्पिक निर्देशक पदमा संघको कार्यालय मनिलामा कार्यरत डा सोमलाल सुवेदीलाई फिर्ता बोलाएको छ। बैठकले सुवेदीलाई फिर्ता बोलाई अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई मनोनयन गर्ने निर्णय गरेको हो।
त्यसैगरी नेपाल सरकार र चीनको ‘चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग’ बीच मानव विकास सहायता सम्बन्धी समझदारीका लागि पनि स्वीकृति प्रदान गरेको छ।
बैठकले नेपाल सरकार उर्जा तथा जलस्रोत मन्त्रालय र चाइना कम्युनिकेसन्स कन्स्ट्रक्सन कम्पनीबीच सम्पन्न हुने ‘मेमोरेण्डम अफ अण्डरस्ट्याण्डिङ एण्ड को–अपरेसन’लाई स्वीकृत गर्ने साथै सो समझदारी पत्रमा हस्ताक्षर गर्न सम्बन्धीत मन्त्रालयले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ।
त्यस्तै सरकारले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा डा महेन्द्र विष्ट र राष्ट्रिय समाचार समितिको कार्यकारी अध्यक्षमा हरिहर अधिकारी ‘श्यामल’लाई नियुक्त गरेको छ।
सरकारले संघीय संसदको ‘संयुक्त बैठक सञ्चालन नियमावली’ पास गर्नका लागि संघीय संसदको संयुक्त बैठक असार ३ मा अपरान्ह ४ बजे बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।