काठमाडौं– ललितपुरस्थित नख्खु कारागारभित्र भएको एक कैदीको रहस्यमय मृत्युको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले छानबिन सुरु गरेको छ। गत बैशाख २२ गते कैदी भक्तबहादुर सुनुवारको मृत्यु भएको थियो।
जेलमा एक्कासी गम्भीर बिरामी भएका उनलाई अस्पताल पुर्याइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो। उनको पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण खुल्न नसकेको उल्लेख छ।
सोही जेलमा रहेका सिरियल किलर अभिषेक सिंहले हत्या गरेको प्रहरी आशंका छ। सिंह २०७० साल कात्तिकमा पक्राउ परेका थिए। उनले नाटकीय शैलीमा ६ जनाको हत्या गरेका थिए। उनलाई नेपाली शोभराज उपनामले पनि चिनिन्छ।
घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले कारागार व्यवस्था विभागका निर्देशक कृष्ण अधिकारीको संयोजकत्वमा छानिबन समिति गठन गरेको थियो। समितिले सिंहले नै हत्या गरेको आधार देखिएको र यसको विस्तृत छानबिनको जिम्मेवारी सिआइबीलाई दिन सुझाव दिएको थियो। सोही अनुसार सिआइबीले अनुसन्धान अघि बढाएको छ।
अनुसन्धानमा आबद्ध सिआईबीका एक अधिकारीका अनुसार अभिषेक र सुनुवार जेलमा सँगै बस्दथे। सुनुवारलाई सिंहले माया गर्दथे।
सिंहले विगतमा पनि आफु निकट व्यक्तिहरुलाई गोप्य रुपमा औषधी दिएर हत्या गर्दथे। सुुनुवारलाई पनि त्यसरी नै हत्या गरेको आशंका छ।
सिंहको जेलका चौकीदार लगायत समूहसँग झगडा हुँदै आएको थियो।
‘कारागारका चौकीदार लगायतलाई सोही प्रकरणमा कारबाही गरेर हटाउन उनले हत्या गरेको देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी भन्छन्,‘त्यसअघि सुनुवारका नाममा गृहमन्त्रीलाई पत्र लेखिएको थियो, जसमा आफुलाई चौकीदारले १५ लाख रुपैयाँ मागेको लगायत आरोप लगाइएको थियो।’ सिंहले नै सो पत्र लेखेर हत्या गरेको आशंका छ। सिआइबीले सिंहसँग सोधपुछ गरी अनुसन्धान अघि बढाएको छ।
ब्लड प्रेसर घट्ने औषधी खुवाएर सुनुवारको हत्या गरिएको आशंका गरिएको छ। औषधीका कारण उनले ब्लेड प्रेसर घटेको र सोही कारण उनको मृत्यु भएको आशंका गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।