काठमाडौं– सुन तस्करी गरेको पैसा रेस्टुरेन्टमा लगानी गरेको भन्दै गृह मन्त्रालयद्वारा गठित बिशेष छानबिन समितिले बाजेको सेकुवा रेस्टुरेन्टका ५ वटा शाखा बन्द गराएको छ। चेतनाथ(चेतन) भण्डारीद्वारा सञ्चालित ५ वटा शाखाहरु बन्द गराइएको हो।
भण्डारी फरार छन्। अदालतको आदेश लिएर भण्डारीको सम्पती छानबिनका क्रममा उनका रेस्टुरेन्टहरुमा शिलबन्दी गरिएको छानबिन समितिका संयोजक ईश्वरराज पौडेलले बताए।
कर्मचारीको बिचल्ली
समितिले बुधबार अनामनगर, कमलपोखरी, बत्तीसपुतली, सोह्रखुट्टे र गैरीधारास्थित शाखाहरुमा शिलबन्दी गरेको छ। सामाखुशीस्थित शाखा पनि सिलबन्दी गरिने बताइपनि थप छानबिन पछि मात्र निर्णय लिइने समितिले जनाएको छ। उक्त शाखामा भण्डारीको नभइ उनका सालाको लगानी भएकाले तत्काल बन्द नगरिएको हो। बाजेको सेकुवाका अन्य शाखाहरुमा भण्डारीको लगानीबारे थप छानबिन हुने समितिले जनाएको छ।
समितिका अधिकारीहरु रेस्टुरेन्टमा पुग्दा कर्मचारीहरु नियमित जस्तै व्यस्त थिए। समितिका अधिकारीहरुले आफुहरु रेस्टुरेन्ट बन्द गर्न आएको र बिग्रन सामानेहरु सबै निकाल्न आग्रह गरेपछि कर्मचारीहरु अलमल्ल परे।
उनीहरुलाई बन्द भएको चिन्ता छ छँदै थियो, साथै आफुहरुको जागिरको चिन्ता थपियो। ‘तलब लिने बेला भएको थियो, अब हाम्रो के हुन्छ सर?’ अनामगर शाखाका एक कर्मचारी शिलबन्दी गर्न गएका प्रहरीसँग सोध्दै थिए।

चेतन भण्डारी
शिलबन्दी गरिएका ५ शाखामा करिब ४ सय कर्मचारी कार्यरत थिए। एकै दिन उनीहरुको जागिर अन्योलमा परेको छ।
शिलबन्दी गरिएका रेस्टुरेन्टका शाखाहरु अदालतबाट आदेशपछि मात्र खोलिने समितिका संयोजक पौडेलले बताए।
रेष्टुरेन्टमा मालिक भण्डारी अमेरिकामा छन्। न्यूयोर्कमा शाखा खोल्न उनी त्यहाँ गएका थिए। त्यही बेला तस्करीमा उनको संलग्नता खुलेको हो।
बाजेको सेकुवाका उपत्यकामा १० वटा शाखाहरु छन्। जसमध्ये प्रत्यक्ष रुपमा भण्डारीको लगानी भएका शाखाहरु मात्र बन्द गरिएको समितिले जनाएको छ।
भण्डारीले चुडामणि उप्रेती ‘गोरे’सँग मिलेर सुन तस्करीमा लगानी गरेको खुलेको थियो। तस्करीका धेरै बैठकहरु उनकै रेस्टुरेन्टमा बस्ने गर्दथ्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।