काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको ठेक्का म्याद भोलिदेखि सकिन लाग्दा सात महिनाका लागि म्याद थपिएको छ।
आंशिक निर्णयबाट ठेकेदार कम्पनीलाई २१ जनवरी २०१९ सम्मको म्याद थपिएको हो। आयोजनाले ठेकेदारको म्याद थप्नुका साथै उसको दाबी अनुसार क्षतिपूर्ति दिने विषयमा समेत सकारात्मक रहेको खानेपानी मन्त्रालय स्रोतले जनाएको छ।
अबको सात महिनामा सुरुङ खन्ने लगायतका काममा ठेकेदार कम्पनीलाई दिएको जिम्मेवारी पुनः सम्झाएर म्याद थपिएको मन्त्रालयका एक अधिकारीले बताए। खानेपानी मन्त्री बिना मगरले दशैंमा राजधानीवासीलाई मेलम्चीको पानी ख्वाउने बताउँदै आए पनि त्यो वाचा पूरा नहुने भएको छ।
भूकम्प, नाकाबन्दी लगायत विविध कारणले समयमै काम गर्न नपाउँदा आफूलाई घाटा भएको भन्दै ठेकेदार कम्पनी इटालियन कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टीले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको थियो। सोही दाबी अनुसार आयोजना र ठेकेदारबीचको विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले छलफल थालेको थियो।
छलफलपछि समितिले मंगलबार ठेकेदारको म्याद थप र क्षतिपूर्ति भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। तर, क्षतिपूर्ति रकम भने तय भएको छैन।
समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्नुको साटो आयोजनादेखि मन्त्रालयसम्मका कर्मचारीको मिलेमतोमा म्याद थप र क्षतिपूर्ति दिने निर्णय हुन लागेको हो।
गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारको सूची जम्मा गरिरहेको समयमा मेलम्चीमा भने म्याद अवधि थपिएको हो।
आयोजनाकी कानुन अधिकृत सुनिता चौधरीले समितिले ठेकेदारको म्याद थपसम्बन्धी आंशिक निर्णय मंगलबार आयोजनालाई उपलब्ध गराएको बताइन्। हाललाई मेलम्ची खानेपानीको काम नरोकियोस् भनेर आंशिक निर्णय अनुसार सात महिना म्याद थपिएको उनले बताइन्। उनले ठेकेदार कम्पनीको दाबी अनुसार क्षतिपूर्ति भुक्तानी विषयमा समितिको निर्णय आएपछि मात्र तय हुने उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।