राजविराज– खडेरी र सुक्खा मौसम सुरु भएपछि सप्तरी, सिरहा, उदयपुर लगायत चुरे पहाड आसपासका दर्जनौं बस्तीमा खानेपानीको संकट सुरु हुन्छ। चुरे पहाड भएर बग्ने अधिकांश खोलाको मुहान सुक्न थालेपछि धारा तथा बस्तीमा भएका ट्युवेलमा समेत पानीको अभाव देखिने गरेको छ।
यही समस्या सप्तरीको रुपनी गाउँपालिका ६ दुधेलामा पनि देखियो। ट्युवेल सुकेपछि स्थानीयवासी समस्यामा परे। पानीको अभाव हुन नदिन वैकल्पिक उपायको खोजी हुँदै गर्दा गाउँमै रहेको पुरानो इनारमा पानीको सतह फेला पर्यो। सबैको सल्लाह अनुसार इनारलाई खानेपानीको वैकल्पिक स्रोतका रुपमा प्रयोग गर्ने निधो भएपछि जिल्ला भू–संरक्षण कार्यालयसँग मर्मतका लागि गुहार मागियो।
कार्यालयले आर्थिक वर्ष २०७४/०७५ को ‘पानी मुहान संरक्षण कार्यक्रम’ अन्तर्गत करिब डेढ लाख रुपैयाँ सहयोग गरेपछि जनश्रमदान गरेर इनारको मर्मत गरिएको छ। हाल पानीको समस्याबाट गाउँलेले राहत पाएको स्थानीय सत्यनारायण महतोले बताए।
इनार मर्मतपछि करेसाबारीको सिँचाइदेखि विवाह, भोज लगायतका काममा ठूलो सहयोग पुगेको उनी बताउँछन्।
‘इनारको पानी खानयोग्य भएपछि अधिकांश मानिस ट्युवेलभन्दा इनारकै पानी प्रयोग गर्न थालेका छन्’, महतोले भने, ‘ट्युवेलको पानी गन्हाउने र रङ आउने हुन्छ। इनारको पानीमा त्यो समस्या छैन।
जिल्ला भू–संरक्षण कार्यालय सप्तरीका प्रमुख विष्णुबहादुर भण्डारीका अनुसार इनारको संरक्षणले खानेपानीको समस्या हल गर्ने मात्र नभई हरियाली बढाउन र पर्यावरण जोगाउन पनि सहयोग पुगेको छ। कार्यालयले पुराना भत्के÷बिग्रेका पानीका स्रोत संरक्षण तथा मर्मत सम्भारको काम योजनामै राखेर अगाडि बढाएको उनको भनाइ छ।
‘हाम्रो उद्देश्य भनेको पानीको मुहान बचाएर सुलभ खानेपानी आपूर्ति र हरियाली बढाउन सहयोग पुर्याउने हो’, भण्डारीले भने, ‘यो योजना सप्तरीका उत्तरी क्षेत्रका धेरै ठाउँमा लागू भएको छ।’
चालू आर्थिक वर्षमा मात्रै सप्तरीको सुरुंगा र कञ्चनरुप नगरपालिका तथा तिरहुत र रुपनी गाउँपालिका गरी ७ वटा नयाँ इनार निर्माण र २४ वटाको मर्मत सम्भार गरिएको भण्डारीले बताए। उनका अनुसार नयाँ इनार निर्माण र मर्मत सम्भारमा करिब ५० लाख रुपैयाँ खर्च भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।