काठमाडौं– केही दिनअघि राजेश हमाल ‘महानायक’ नभएको भनेर टिप्पणी गरेका निर्देशक शोभित बस्नेतले आफूबाट गल्ती भएको भन्दै ‘महानायक’ राजेश हमाल नै भएको बताएका छन्। आइतबार उनको नयाँ फिल्म ‘डाँडाको वर पीपल’को ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा उनले आफ्नो 'गल्ती' स्वीकारेका छन्।
केही साताअघि बस्नेतले काठमाडौंमा आयोजित एक कार्यक्रममा भुवन केसी ‘महानायक’ भएको घोषणा गरेका थिए। सँगै उनले गौरी मल्ललाई महानायिकाको उपाधी पनि दिएका थिए। तर, अहिले आएर भने उनले आफूलाई गल्ती महसुस भएको बताएका छन्।
अझ रमाइलो कुरा त बस्नेतले हमाल र उनका दर्शकसँग माफी माग्ने मात्रै नभएर राजेश हमालको तस्बिरलाई नै प्रमुख अतिथि बनाएका थिए।
यसबारे प्रश्न गर्दा उनले भने, ‘मैले जहिले पनि महानायकभन्दा सुपरस्टार ठूलो भन्ने ठान्थें। त्यसैले सुपरस्टार भनेको हुँ। तर, म गलत रहेछु। सबैसँग आज माफी माग्दै हरेक ठाउँमा राजेश हमाललाई नै महानायक भन्ने प्रतिज्ञा गर्छु।’
आइतबारको कार्यक्रममै उनले भुवन केसी चाहिँ सुपरस्टार भएको बताए।
शोभितले ‘महानायक’ विवाद झिक्नुको कारण स्पष्ट छ– उनको आफ्नो फिल्मलाई चर्चामा ल्याउनु। तर, यसपटक भने उनले यो विवाद निकाल्दा बरु फिल्म छाँयामा परेको थियो। उनकै व्यापक आलोचना भयो।
उनका छोरा सलोन बस्नेतले खेलेको फिल्म ‘डाँडाको वर पीपल’ असोज २६ गते प्रदर्शनमा आउँदै छ।
फिल्म प्रदर्शन हुने मिति नजिकिनु र आफूले झिकेको ‘महानायक’ विवाद आफैंमाथि प्रहार गरेको खड्गजस्तो हुनुले बस्नेतलाई यो विषयमा माफी नै माग्न बाध्य तुल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।