काठमाडौं– मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएको आरोपमा पक्राउ परेका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठ विरुद्ध दायर भएको ठगी मुद्दामा हेर्दाहेर्दै बुधबारका लागि पेसी तोकिएको छ।
श्रेष्ठको बयानपछि जिल्ला न्यायाधीश अम्बर बस्नेतको इजलासमा थुनछेक सुरु भए पनि मंगलबार बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको जिल्ला अदालतले जनाएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले करिब ३ अर्ब बिगो दाबी गर्दै श्रेष्ठ विरुद्ध सोमबार मुद्दा दायर गरेको थियो।
वैदेशिक रोजागरीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा श्रेष्ठले ठगी गरेकाले २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बराबरको बिगो असुल हुनुपर्ने दाबी आरोपपत्रमा गरिएको छ।
प्रहरीले जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर (ओएससी), भिएलएन र जिएसजी कम्पनीमा छापा मारेको थियो। मलेसिया जाने युवाहरूसँग सरकारले तोकेकोभन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा भिएलएनका अध्यक्ष श्रेष्ठसहित ४० जना पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।