चितवन– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण कार्यमा लापरबाही गरे आफ्नै घरबेटीलाई समेत कारबाही गर्न सुझाएका छन्। आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुका जिज्ञासा मेटाउने क्रममा अध्यक्ष प्रचण्डले समयमै गुणस्तरीय काम नगरे आफ्नै घरबेटीलाई समेत कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
अध्यक्ष दाहालका घरबेटी शारदा अधिकारीले लिएको ठेक्काको काममा पनि लापरबाही भइरहेको गुनासो केही दिनअघि प्रकाशमा आएको थियो।
उनले काममा ढिलासुस्ती तथा अनियमितता गर्ने ठेकेदारलाई कडा कारबाही गर्ने चेतावनीसमेत दिए। अध्यक्ष दाहालले ठेकेदारमाथि कारबाहीको विषयलाई लिएर गृहमन्त्री रामबहादुर थापालाई बोलाएर आफूले निर्देशन दिएको भन्ने समाचारमा सत्यता नरहेको स्पष्ट पारे।
मुलुकको राष्ट्रिय एकतालाई कायम राख्न र विकास तथा समृद्धिको एजेन्डालाई नयाँ संकल्पका साथ अघि बढाउन राष्ट्रिय जनता पार्टी, नेपाललाई पनि सरकारमा ल्याउने प्रयास भइरहेको दाहालले स्पष्ट पारे। उनले राजपालाई सरकारमा सहभागी गराउन कुनै समस्या नरहेको पनि जिकिर गरे।
अध्यक्ष दाहालले आवश्यक परेकाले संघीय संसद अन्तर्गतको दुवै सदनको नियमावली पारित गर्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग पनि सहमति गर्नु परेको स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।