काठमाडौं- सरकारले आगामी ८ वर्षभित्र बालश्रम अन्त्य हुने गरी काम गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताएका छन्। बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री विष्टले सरकारले २०८३ सालभित्र जसरी भए पनि नेपालबाट बालश्रम अन्त्य गर्ने अठोट लिएको बताए।
नेपालमा विभिन्न संस्थाले सार्वजनिक गरेको तथ्यांक जस्तो नेपालमा बालश्रमिक नभएको मन्त्री विष्टको भनाइ छ। पछिल्लो समय विद्यालय जाने बालबालिकाको संख्या बढ्दै गएकाले बालमजदुरी दर घटेको उनले दाबी गरे।
बालश्रम रोक्न मन्त्रालयले बाल श्रम निवारण गुरुयोजना सञ्चालनको तयारी गरिरहेको र उनले बताए।
विभिन्न क्षेत्रमा काम गरिरहेको ९ देखि १६ वर्षमुनिका बालबालिका सबैका सन्तान भएकाले उनीहरुलाई कामभन्दा विद्यालय पठाउने पहल गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताएका छन्। बालबालिका देशका भविष्य भएकाले उनीहरुको संरक्षण गर्नु सबैको दायित्व भएको उनको भनाइ छ।
नेपालमा पछिल्लो समय बालश्रमिक ५ देखि ६ लाखको संख्याा रहेको मन्त्रालयको भनाइ छ। तर, विभिन्न संघ सस्थाले भने नेपालमा बालश्रमिक १६ लाखभन्दा बढी रहेको तथ्यांक सार्वजनिक गर्ने गरेका छन्। बालश्रमका क्षेत्रमा काम गर्ने संघसंस्थाले पनि यकिन विवरण सावर्जानिक गर्न सकेका छैनन्।
'युवा रोजगार प्रवर्द्धन गरौं बालश्रमको अन्त्य गराऊ' भने नाराका साथ आज विश्व बालश्रम विरुदको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। ५ देखि १६ वर्षमुनिका बालबालिकाकालाई रोजगारीका नाममा लगाइने कामलाई बालश्रम भन्ने गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।