काठमाडौं- गत वर्ष कोरोना महामारी शुरु भएपछिको लकडाउनमा काठमाडौं उपत्यका छाडेर, पैदल हिँडेरै घर पुग्नेको ताँती थियो। खासगरी कामविहीन र गुजाराविहीन बनेका श्रमिकहरुको। उनीहरूलाई लक्षित गरी धुलिखेलका केही स्थानीय युवाले बाटोमै निःशुल्क चप्पल, जुत्तादेखि चाउचाउ, बिस्कुट, दालमोठ, चिउरा, पानी बाँडेका थिए।
यसरी समस्यामा परेकालाई सहयोग गरेर समाजसेवाको उदाहरण पेस गरेका ती युवा चर्चामा आउन चाहेनन्। सञ्चारमाध्यमले फोटो खिच्न लाग्दा उनीहरूको जवाफ थियो- ‘फोटो खिचेर चर्चामा आउनु छैन। बिना चर्चा समाजसेवा गर्ने हाम्रो उद्देश्य हो। यो सेल्फी लिनका लागि गरिएको समाजसेवा होइन।’
धुलिखेलका यी युवाजस्तै चुपचाप समाजसेवा गर्नेहरूको जमात बढिरहेको छ। उनीहरूको कथा चर्चामा आउँछ, तर उनीहरू पर्दामा देखिन खोज्दैनन्। त्यसमा उनीहरुको रुचि पनि देखिन्न। पर्दामा आउँछन् त केवल ‘आले प्रवृत्ति’का ‘समाजसेवा’। ‘आले’ अर्थात् वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको प्रसंग हो यो। अहिले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म मन्त्री आलेको ‘समाजसेवा’को खुबै चर्चा छ। नहोस् पनि किन? चीनले अनुदानमा दिएका अक्सिजन सिलिण्डरदेखि औषधिका पोकासम्ममा उनकै तस्बिरसहितका स्टिकर टाँसिएको छ।
चीन सरकारले नेपाललाई दिएका सिलिण्डरमा आफ्नो तस्बिर राखेर आलेले सुदूरपश्चिम पुर्याएका छन्। चीन सरकारले दिएका अक्सिजन सिलिण्डरमध्ये १२५ वटा आलेले सुदूरपश्चिम पुर्याएका छन्। चीनले दिएको सिलिण्डरमा मन्त्री आलेलाई आफ्नो फोटो टाँस्ने रहर कसरी जाग्यो? हामीले यस्तो प्रश्न सोध्दा उनले जवाफ दिए, ‘स्वास्थ्य सेवा विभागले १५ वटा मात्रै सिलिण्डर दिएको हो। बाँकी ११० वटै मैले आफ्नै लगानीमा किनेको हुँ।’
मन्त्री आलले अहिले १२५ वटा सिलिण्डर सुदूरपश्चिम पुर्याएका छन्। तीमध्ये १५ वटा मात्रै स्वाथ्य सेवा विभागले दिएको र बाँकी ११० वटा आफैंले खरिद गरेको उनको दाबी छ। ‘१५ वटा सिलिण्डरले डोटीमा के हुन्छ? रित्तिएपछि भर्न नेपालगञ्ज आइपुग्नुपर्छ। समस्या छ। त्यो भएर थप ६० वटा किनेर ७५ पुर्याएर मैले पठाएको हो’, आलेको दाबी छ।
त्यसैगरी, धनगढीका लागि पनि ५० वटा सिलिण्डर किनेर पठाएको उनको दाबी छ। गाडी भाडासमेत आफैंले ब्यहोरेर पठाएको उनले बताए। तपाई आफैंले किनेर पठाएको भए पनि फोटो चाहिँ किन टास्नुभयो नि भन्ने प्रश्नमा मन्त्री आलेले भने, ‘मैले आफ्नो गाँस काटेर जनताको सेवा गर्न नपाउने? जहाँसम्म स्टिकर टाँसेको कुरा छ, त्यो मलाई जानकारी नै थिएन। पछि वितरण गर्दाखेरि थाहा पाएको हो। यो किन गरेको भन्दा भोलि हराउन पनि सक्छ, गाउँमा जाँदाखेरी कसले दिएको भनेर थाहा पाउनका लागि पनि गरेको भनेर साथीहरुले भने।’
मन्त्री आलेले आफ्नो गाँस काटेर समाजसेवा गर्न नपाउने? भनेर प्रतिप्रश्न गरे। तर, समाजसेवा चर्चाका लागि होइन भनेर उनले बुझेनन्।
समाज कल्याण ऐन, २०४९ मा समाज कल्याण कार्यको बारेमा प्रष्ट उल्लेख छ। ‘समाजका कमजोर, असहाय र असक्त व्यक्तिका लागि सेवा पुर्याउन र समाजका पिछडिएका वर्गलाई आर्थिक एवं सामाजिकरूपमा सक्षम बनाउन गरिने सामाजिक कार्य सम्झनुपर्छ’, ऐनमा लेखिएको छ।
त्यसैगरी समाजसेवाको बारेमा भनिएको छ, ‘नाफाको उद्देश्य नराखी व्यक्तिगत वा सामूहिक रूपमा गरिने समाज कल्याण कार्य सम्झनुपर्छ।’
यी परिभाषा हेर्दा समाजसेवा कुनै निश्चित स्वार्थ नरहेको पवित्र कार्य बुझ्न सकिन्छ। मन्त्री आलेले राखेको उद्देश्य पनि पवित्र नै होला। कोरोना महामारीको कहरमा अक्सिजन नपाइरहेकालाई सहयोग गरौं भनेरै उनले आफ्नो क्षेत्रमा सिलिण्डर र अन्य सामग्री पठाएका होलान्। तर, यस्तो पवित्र कार्यमाथि प्रश्न उठ्नु राम्रो होइन। मन्त्री आलेले आफ्नो फोटोसहितको स्टिकर टाँसेर गरेर सिलिण्डर वितरण गर्नुलाई हाम्रो ऐनले समाजसेवा ठान्छ त?
स्वार्थ नहुँदो हो त मन्त्रीको फोटो सिलिण्डरदेखि औषधिका पोकामा नझुण्डिन पनि सक्थ्यो। समाजसेवाका नाममा गरिएका यस्ता क्रियाकलाप समाजले नै पचाउन गाह्रो हुनेगरी सामाजिक सञ्जालमा बहस हुन थालेको छ।
कतिपयले यस्तो प्रकृतिको समाजसेवालाई ‘सेल्फी’ समाजसेवा पनि भन्ने गरेका छन्। केही दिएजस्तो गर्ने र एक क्लिक गरेर सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्टिने क्रम पनि पछिल्लो समय बढेको छ।
समाजसेवा बुझ्न एउटा भनाइ नै काफी छ, ‘समाजसेवा त्यस्तो पवित्र कार्य हो। जहाँ एउटा हातले दिएको अर्को हातले थाहा पाउनु हुँदैन।’ मन्त्री आलेले यही नबुझेरै ‘समाजसेवा’ गरेका होलान्?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।